शान्ति र सद्भावको पर्व : उधौली चासोक तङ्नाम - Sainokhabar
pin uppinuppin up casinopinup azpin uppinup azpin up azpin-up online casinopin uppin up azerbaijanpin up azerbaycanpin-up oyunupinup loginpinup casinopin up casino indiapin up indiapinup bet indiapin up bet indiapin up indiapin up casinopin up indiapin up kzpin up betpin uppin up betpin up bet зеркалоpin upmostbet azemosbetmosbet casinomostbet azmosbetmostbetmostbet casinomostbet aviatormosbet aviatorмостбет кзmostbet kzmostbet1win kz1win casino1win1 win1win uz
  • शनिबार, मङि्सर ०६, २०८३

शान्ति र सद्भावको पर्व : उधौली चासोक तङ्नाम

अमर तुम्याहाङ

शुष्कतामा पारिलो घामको न्यानोपन । अन्नबाली भित्राइएको याम । महाभारत पर्वतश्रृङ्खला अर्थात् पहाडी गाउँका बारीमा पैयौँ ढकमक फुलेको मनोरमता । चराचुरुङ्गीहरु औलतिर लागेका र तितेदेखि अन्य जलपायी माछाहरु यसअघि नै आफ्नो अनुकूल तापक्रम भएको दक्षिणी जलक्षेत्रतिर झरिसकेको अवस्था । यही ऋतु परिवर्तन अर्थात् सूर्यको दक्षिणायनसँगसँगै मनाइने चाड हो किरात चाड ।

दुई शताब्दी बढी एकात्मक राज्यसत्ताको ठिहीले नराम्ररी कठाङ्ग्रिएको किरात चाड सङ्घीय लोकतान्त्रिक गणतन्त्रको उषा–उदयपछि तङ्ग्रिँदै छ । यसै मेसोमा चासोक तङ्नाम, चासुवा (चोसोवा), साकेन्वा/साकेला, श्याँदर पिदार चाडले मूलत याक्थुङ, याक्खा, खम्बु राई, कोँइचहरु गुलजार रहेको पूर्वी नेपालको गाउँघर, उनीहरु बसाइँसराइ गरी बसेका सहरबजारमात्र होइन प्रवास समेत उधौली चाडमय हुने गरेको छ । त्यही अवसर पुनः एक वर्षको समय चक्र पूरा गरी हाम्रो सामु टुप्लुकिएको छ ।

याक्थुङ, याक्खा, खम्बु राई, कोँइच समुदाय स्वपहिचान सहितका फरकफरक समुदायहरु हुन् । यसर्थ उधौली चाडलाई उनीहरुले आआफ्नो भाषामा फरकफरक मौलिक नामले पुकार्दछन् । याक्खाहरु ‘चोसोवा’, सुनुवारहरु ‘शाँदर’, लिम्बूहरु ‘चासोक तङ्नाम’ र राईहरुले ‘साकेला वा सेमुना साकेन्वा’ नामले उधौली चाडलाई जनाउने गर्दछन् । हायुले कागुनी न्वागी, जिरेल न्वागी चास्या, सुरेल र धिमाल जातिले पनि उधौलीलाई अर्थात् न्वाँगीलाई आआफ्ना भाषामा पृथक पृथक नामले मान्दछन् ।

आदिवासी जनजातिको स्वपहिचान गर्ने आत्मनिर्णयको आधारमा संस्कृत, पाली र खसनेपाली भाषीहरुले किरात वंश भनी भन्ने यी जाति अन्तर्गतका याक्खा, सुनुवार, लिम्बू र राई जातिले मान्ने चाड किरात चाड हो भनी मान्ने गरेका छन् । आराध्यदेव, प्रकृति तथा पितृ पूजक किरात जातिले मान्ने यो चाड मुन्धुममा आधारित छ । यसर्थ उधौली चाडलाई नेपाल सरकारले पनि किरात चाड भनेर मान्यता दिएको छ ।

मुन्धुममा र उधौली चाड

याक्खा सुनुवार, लिम्बू, राई, हायु, जिरेल, सुरेल, धिमाल जातिको बसोबास पृथक भूगोल, फरकफरक भाषा आदिको कारणले उधौली चाडको नाम, मुन्धुमी प्रसङ्गहरु, पूजा गर्ने देवीदेवता, पूजा विधि, पुजारीका नाम आदि पनि फरकफरक रहेको पाइन्छ । हुन पनि मुन्धुममा ‘किरात चाड’ शब्द कतै भेटिँदैन । ‘किरात’ र ‘चाड’ शब्द अन्य भाषाबाट किरात समुदायमा आएको आगन्तुक शब्द हुन् ।

याक्खा जातिले मान्ने चाड ‘चोसोवा’, सुनुवार जातिले मान्ने चाड ‘शाँदार’, लिम्बु जाचिले मान्ने चाड ‘चासोक तङ्नाम’ र राई जातिले मान्ने चाड ‘साकेन्वा’ वा ‘साकेला’ भन्ने शब्दहरु लोकप्रचलित छन् ।

याक्खा र सुनुवार जातिले पाकेको नयाँ अन्न पितृलाई चढाउँने गर्दछन् । लिम्बू जातिको विश्वासअनुसार सर्वशक्तिमान माङ तागेरानिङ्वाफुमाले यम्भामी पोरोक्मिलाई सारा सृष्टि गर्न लगाउनुका साथै मानव आहाराको लागि अन्नपातको बीउबिजन दिएकाले पाकेको नयाँ अन्न उनैलाई चढाउँने गर्दछन् । उनीहरुको थप विश्वास यो पनि छ कि बीउहरु याम मिलाएर रोप्न, गोडमेल गर्न, फलाउन र आगोमा पकाइतुल्याई खान सिकाउने कार्य सावा येहाङ (आदिम मानव) की चेली सिबेरा एक्थुम्मा सिबेरा येभुङ्गेक्माले सिकाइन् ।

त्यसैले लिम्बु जातिले यिनै पात्रलाई मूलरुपमा पूजा गर्ने वा नयाँ अन्न चढाउँने गर्दछन् । यी बाहेक पनि लिम्बूहरुले युमा, थेबा, काप्पोबा, थुङधाङबा, आदि घरभित्र पुजिने देवताहरुलाई न्वाँगी चढाउँने गर्दछन् । शुभकार्यमा बिघ्नबाँधा ल्याउने मिसेक, कुइकुदापको पनि पूजा गरिन्छ । राई जातिले भने आफ्नो आदि पुर्खा पारुहाङ र सुम्निमाको प्रतीक सेतो र कालो शिला गाडी पूजा गर्नेगर्दछन् । पूजापछि जङ्गलमा सिकार खेल्ने, भस्मे या खोरिया फाँड्ने, बस्ती बसाउने, अन्नबालीको बीउ पत्ता लगाउने, खेती गर्नेजस्ता सीपहरु नृत्यको माध्यमबाट राईहरु प्रस्तुत गर्ने गर्दछन् ।

यी सबै आख्यान तथा विधिविधानहरु मुन्धुमसँग जोडिएका छन् । यी विधिविधानहरु सजातीय पूजारीहरु जस्तै फेदाङ्मा (लिम्बू), नाक्छोङ (राई), ना?सो (सुनुवार), फोम्बो (जिरेल), फोचो (हायु) द्वारा पम्पादन गरिन्छ ।
प्रकृति पूजाको रुपमा उधौली चाड

तागेरानिङ्वाफुमा माङ, निनाम्मा जस्ता सर्वशक्तिमान ईश्वरको पूजा मात्र होइन, किरात चाड । पृथ्वी (भूमि), आकास, जल, वायु, अग्नी, चन्द्र, सूर्य, पशुपक्षी, वनस्पती आदिको पूजा अर्चना पनि हो उधौली चाड । मानव समुदायले आफ्नो प्राण धान्नका लागि खाने सबै प्रकारका अन्नबाली, फलफूल उत्पादनमा यी तत्वहरुको भूमिका अपरिहार्य रहेको हुन्छ । खेतीपातीमा उपरोक्त तत्वहरुको त्यही अहम् भूमिकालाई मनन गर्नु र आभारी हुनु किरात जातिको स्वजातीय विशोषता हो र त्यही विशेषताको अभिव्यक्ति किरात चाडमा हुने गर्दछ ।

राई जातिले सुम्निमा र पारुहाङलाई आफ्नो आदिम पुर्खा मात्रै होइन धरती र आकाशको प्रतीकको रुपमा पूजा गर्दछन् । याक्खाहरुले चोसोवालाई भूमि पूजाको रुपमा पनि मान्ने गर्दछन् । भूमिको उर्वतामा उम्री फलेको बालीनाली आफूले खानुभन्दा पहिला स्वयम् अन्नदाता भूमिलाई नै चढाई आभार व्यक्त गर्ने चाड हो किरात चाड । किरात वंशको एउटा शाखा लिम्बू जातिले पनि बालीनाली लगाउनुपूर्व यक्वा सेवा (वैशाखे पूर्णिमाको दिन गरिने पूजा) गर्दछ । सोही दिन रोपिएको नयाँ बीउ बिजन राम्रो उम्रियोस्, बढोस्, चरामुसा नलागोस्, फुलोस्, फलोस् भनेर प्रकृति र आफूले मानीपूजी ल्याएका देवताहरुसँग भाकल गर्ने प्रचलन छ । यही भाकल अनुसार अन्नबाली पाकेपछि सकुसल अन्नबाली फल्न, पाक्न सहयोग पु¥याउने प्रकृति, पशुपक्षी आदिलाई धन्यवाद ज्ञापन गर्ने अवसरको रुपमा लिम्बूहरु यो पर्वलाई लिने गर्दछन् ।

उधौली चाडको सामाजिक महत्व

उधौली चाडमा याक्थुङ, याक्खा, खम्बु राई, कोँइच जातिहरु पूजापाठ गर्नुका साथै एकआपसमा भेटघाट गर्ने, शुभकामना आदानप्रदान गर्ने, परम्परागत नाचगान गर्ने, मौलिक भेषभूषा लगाउने र आफन्तजनसँग सजातीय मीठामीठा खानपीनका परिकारहरु खाने गर्दछन् ।

राई जातिमा सासुबुहारी, बाबुछोरादेखि नातिनातिनासम्म एकै ठाउँमा भेला भई सेमुना साकेन्वा धक फुकाएर नाच्ने गर्दछन् । यसरी नै सुनुवार जातिमा पनि शाँदार पूजाआजा सकिएपछि ढोल र झ्याम्टा बजाएर विभिन्न सिलिहरु नाच्दै मनोरञ्जन गर्दछन् । यता लिम्बूहरु भने उनीहरुको जातिको आदिम खेलाडी पोरोक्मी यम्भामीलाई स्मरण गर्दै पक्लुङ लेप्मा (छेलो हान्ने) खेल खेल्दछन् । यही अवसरमा तरुनी तन्नेरीहरुको फुङ्वा चाङ्मा (जीवनरुपी फूल जगाउने) मुन्धुमी कर्म पनि सम्पादन गर्दछन् । किशोर किशोरीहरु परिपक्व उमेरमा प्रवेश गरेको सङ्केतको रुपमा चाङ्वान् लेक्मा (विशेष विधिविधानका साथ वश्त्र अर्थात् तागाबा, मेख्ली, गरगहना लगाइदिने) सुअवसरको रुपमा पनि यो चाडलाई लिम्बूहरुले लिने गर्दछन् । के लाःङ (च्याब्रुङ नाच), या? लाःङ (धान नाच) पनि यो पर्वका थप आकर्षण हुन् ।

यस चाडको पावन अवसरमा याक्खा याक्खामाहरु एक ठाउँमा भेला भई केवलाक, चावकलाक गर्ने विभिन्न प्रतियोगिताहरु आयोजना गर्ने, नाचगान गर्ने, शुभकामना आदानप्रदान गर्ने गर्दछन् ।

यसरी नै शाँदारले सामाजिक तथा सांस्कृतिक रुपमा मानवीय एकता, शान्ति, सद्भाव र समन्वय स्थापित गर्दछ भन्ने सुनुवारहरुको विश्वास रहेको छ । रिसइबी छाडेर व्यक्तिगत हितभन्दा माथि उठेर ‘हामी भावना’ले ओतप्रोत भई सामुहिक हितका लागि ऐक्यवद्धता जनाउने यस चाडको महत्वपूर्ण पक्ष भनेको सहभागितामूलक समन्वय ठान्दछन् सनुवारहरु ।

सरकारको नजरमा उधौली चाड

नेपाली जनताले २००७ साल पहिलेदेखि हाससम्म पटक पटक गर्दै आएका ऐतिहासिक सङ्घर्ष र जनआन्दोलनको परिणामस्वरुप अहिले मुलुक धर्मरिपेक्ष भएको छ । मुलुकका सम्पूर्ण जातजातिले मान्ने चाडपर्वहरु संवैधानिक नैसर्गिकताको हिसाबले समतुल्य भएका छन् । तर पनि व्यवहारमा यो मुखरित हुन नसकेको यथार्थ पनि सबैको सामु जगजाहेर नै छ । हुन त यो अवस्थामा पुग्न पनि लामो सङ्घर्षको बाटो तय भएको छ । रिदामा र रामलीहाङजस्ता किराती सांस्कृतिक अगुवाहरु त्यही किरात चाडको पक्षमा काम गर्दा सहादत प्राप्त गर्नु परेको इतिहास पनि हाम्रो सामु छँदै छ । यद्यपि खुशीको कुरो के छ भने नेपालका विभिन्न धर्मावलम्बीहरुले मान्ने चाडपर्वहरुसँगै किरात धर्मावलम्बीहरुले मान्ने किरात चाडलाई पनि नेपाल सरकारको २०६४ फागुन १८ गते निर्णय गरी राष्ट्रिय पर्वको मान्यता दिएको छ । किरात याक्खा छुम्मा, सुनुवार सेवा समाज, किरात याक्थुङ चुम्लुङ र किरात राई यायोक्खाको संयुक्त पहलमा २०५८ मङ्सिर ६ गते माग गरेबमोजिम तत्कालीन सरकारले सम्बन्धित जातिका कर्मचारीका लागि मात्र भनेर उधौली चाडलाई किरात चाड नाममा मान्यता दिने निर्णय सोही साल चैत्र २६ गते गरेको कुरा पनि यहाँ स्मरणीय छ ।

विगतका शासकहरुको बक्रदृष्टिमा परेको किरात चाड भर्खरै ब्यूँतिएको अवस्थामा छ । यही कारणले पनि उधौली चाड लोकजीवनमा पूर्ण रुपमा स्थापित हुन सकेको छैन, एकरुपता र भव्यताका हिसाबले । यसले पूर्णता पाउन अझै धेरै लामो समय लाग्ने देखिन्छ । राज्यकै नीतिका कारण किरात चाडले यस्तो हविगत भोग्नु परेकाले अब यसलाई पूर्णता प्रदान गर्न पनि राज्यले नै विशेष ध्यान दिनुपर्दछ भने अन्य समुदायको पनि सौहाद्र्धता त्यतिनै अपेक्षित छ ।

टुङ्ग्याउनी

हामी नयाँ नेपाल निर्माणको ऐतिहासिक युगबाट गुज्रिरहेका छौँ । यो अवसरमा किरात चाड फगत चाडको रुपमा मात्र नभएर सङ्घीय राज्य निर्माण अभियानसँग जोडेर ऐतिहासिक पर्वका रुपमा मान्नुपर्ने युगीन दायित्व आज हाम्रो काँधमा आएको छ । यस पावन पर्वलाई मानवीय एकता, शान्ति, सद्भाव र समन्वय गर्ने अवसर मात्र होइन संविधान निर्माण र राज्यपुनर्संरचनाको सार्थक प्रयाससँग जोडेर मनाउनुपर्छ ।

सम्बन्धित खवर