
साइनो समाचारदाता
पान्थर । यस अघि नेपाली कांग्रेसल जितेको जिल्लाको फाल्गुनन्द गाउँपालिका अध्यक्ष पद यस पटक गुमाएको छ ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का वीरबहादुर कुरुम्बाङले निकटतम प्रतिस्पर्धीभन्दा ८ सय ६ मतको अन्तरले विजय हासिल गरेका हुन् । निर्वाचन अधिकृत नवराज दुलालका अनुसार आइतबार राति सम्पन्न मतपरिणामानुसार कुरुम्बाङले पाँच हजार ३ सय ६९ मत प्राप्त गरे । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका वृजहाङ आङ्देम्बेले चार हजार ५६३ मत प्राप्त गरे । त्यस्तै समाजवादी पार्टीकी विमला आङ्देम्बेले ३ सय २०, सङ्घीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका जितेन चेम्जोङले २ सय ४०, राष्ट्रिय प्रजातन्त्र पार्टीका सुसुहाङ चेम्जोङले २८, राष्ट्रिय प्रजातन्त्र पार्टी (संयुक्त)का मोतीप्रसाद आङ्देम्बेले ७५, राष्ट्रिय जनमुक्ति पार्टीका इच्छाबहादुर चेम्जोङले २८ र मङ्गोल नेशनल अर्गनाइजेशनका उदय सुनुवारले १२ मत प्राप्त गरेका छन् । १ सय ७९ मत बदर भएको छ । स्थानीय तहको निर्वाचन २०७४बाट निर्वाचित गाउँपालिका अध्यक्ष अमरकुमार नेम्वाङको निधनपछि त्यस पालिकामा उपनिर्वाचन भएको हो । २०७४ को चुनाबमा नेपाली कांग्रेसले अध्यक्ष र उपाध्यसहित ५ वटा अध्यक्ष जितेको थियो । तत्कालिन एमालेले ४ वडा अध्यक्ष मात्र दिएको थियो । पान्थरबाट प्रदेश सभा सदस्यमा निर्वाचित प्रदेश सभा सदस्य एवम् आर्थिक मामिला तथा योजना मन्त्री इन्द्रबहादुर आङ्बोले संघीय र प्रदेश सरकारको जनचाहना अनुसारको बिकाश र समृद्धिको कामको सुरुवात र सकारात्मक प्रचार,.पार्टी भित्रको बलियो एकता र पार्टी नेता कार्यकर्ताको अथक र कठोर मेहनत र राम्रो जनसम्म्बन्ध, बलियो र नवीन चुनावी रणनीति र कार्यवन्यन गर्न सक्षम र इमान्दार नेता कार्यकर्ता पङ्ती, तथा .गुटगत र पूर्ब समूहको आधारमा होइन क्षमतावान, लोकप्रिय र इमान्दार उम्मेदवार एकमतका साथ छनौटको कारण नेकपा(नेकपा)ले विजय सम्भब भएको बताएका छन् ।
















