ताप्लेजुङ, असोज १४ गते
ताप्लेजुङका अलैँची बगानमा अहिले किसानको चहलपहल बढेको छ । अलैँची पाक्ने मुख्य समय सुरु भएसँगै जिल्लाका किसानलाई बाली भित्र्याउन भ्याइनभ्याइ भएको हो ।
असोज र कात्तिकलाई अलैँची थन्क्याउने मुख्य मौसम मानिन्छ । यही समयमा किसानले बिहानदेखि साँझसम्म अलैँची टिप्ने, छोडाउने र सुकाउने कामलाई तीव्रता दिएका छन् । वर्षा र झरीका बीच पनि पाकेको अलैँची समयमै भित्र्याउन किसान बगानमै व्यस्त छन् ।

अलैँची ढिलो टिप्दा चरा, मुसा तथा अन्य वन्यजन्तुले क्षति पुर्याउने भएकाले किसानका लागि यो समय निकै संवेदनशील मानिन्छ । त्यसैले अन्य कृषि तथा घरायसी कामलाई थाती राखेर किसान अलैँची बगानमै केन्द्रित भएका छन् ।
जिल्लाका अधिकांश ग्रामीण बस्तीमा अहिले बिहानैदेखि अलैँची टिप्ने चहलपहल देखिन्छ । कतिपय ठाउँमा परिवारका सबै सदस्य मिलेर बगानमा जाने गरेका छन् भने कतिपयले थप जनशक्ति प्रयोग गरेर छोटो समयमा बाली भित्र्याउने गरेका छन् ।
ताप्लेजुङको ग्रामीण अर्थतन्त्रमा अलैँचीको महत्वपूर्ण योगदान छ । वर्षभरको मेहनतपछि उत्पादन भएको अलैँची बिक्रीबाट प्राप्त आम्दानी किसानको घरायसी खर्च, शिक्षा, स्वास्थ्यलगायत आवश्यकतामा प्रयोग हुने गरेको छ । त्यसैले अलैँची थन्क्याउने समय किसानका लागि व्यस्ततासँगै आम्दानीको महत्वपूर्ण अवसरसमेत हो ।
ताप्लेजुङका नौ स्थानीय तहमध्ये फक्ताङ्लुङ गाउँपालिका–७ ओलाङ्चुङगोला बाहेक सबै क्षेत्रमा अलैँची खेती हुने गरेको छ । कृषि ज्ञान केन्द्र ताप्लेजुङका अनुसार जिल्लामा चार हजार ५७८ हेक्टर क्षेत्रफलमा अलैँची खेती हुँदै आएको छ । उक्त क्षेत्रफलबाट करिब दुई हजार ३०० मेट्रिक टनसम्म अलैँची उत्पादन हुने गरेको केन्द्रले जनाएको छ ।
हाल ताप्लेजुङमा अलैँची प्रतिमन (४० किलोग्राम) करिब ८० हजार रुपियाँका दरले कारोबार भइरहेको छ । मूल्यमा आएको सुधारसँगै किसानको ध्यान उत्पादन भित्र्याउने र सुरक्षित रूपमा भण्डारण गर्नेमा केन्द्रित भएको छ ।
असोजदेखि कात्तिकसम्म चल्ने अलैँची थन्क्याउने मौसमले अहिले ताप्लेजुङका गाउँबस्तीको दैनिकी नै फेरिएको छ । पाकेको अलैँची बगानमा छ, किसानको ध्यान त्यसैमा छ।
















