सुजन दियाली/ पथरी, १७ असोज
मोरङको पथरी शनिश्चरेमा आजबाट सुरु भएको तेस्रो अन्तर्राष्ट्रिय आमन्त्रण पथरी शनिश्चरे गोल्डकप–२०८३ को उद्घाटन खेलमा भारतको यूकेएफसी कर्साङ विजयी भएको छ । यूकेएफसीले आयोजक पथरी–११ फुटबल क्लबलाई सडन डेथमा पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेको हो ।

निर्धारित समयको खेल बराबरीमा सकिएपछि खेलको निर्णय टाइब्रेकरबाट गरिएको थियो । टाइब्रेकरमा समेत बराबरी भएपछि सडन डेथमार्फत खेलको निर्णय लिइएको थियो। सडन डेथमा आयोजक पथरी–११ लाई ८-७ गोल अन्तरले पराजित गर्दै यूकेएफसी कर्साङले सेमिफाइनलमा स्थान सुरक्षित गरेको छ ।
खेलमा उत्कृष्ट प्रदर्शन गरेका यूकेएफसी कर्साङका गोल रक्षक सचिन गुरुङ खेलको म्यान अफ द म्याच घोषित भएका हुन। उनले नगद ७ हजार ५ सय रुपैयाँ सहित पुरस्कृत भए । उनले टाइब्रेकरमा दुई प्रहार रोक्दै टोलीको जितमा महत्वपूर्ण योगदान दिए।

उद्घाटन खेलका क्रममा पानी परे पनि खेल हेर्न दर्शकहरूको उत्साहजनक उपस्थिति रहेको थियो । प्रतियोगिताको उद्घाटन पथरी शनिश्चरे नगरपालिकाका नगर प्रमुख मोहन प्रसाद तुम्बापोले गर्नु भएको थियो । उद्घाटन समारोहमा इलाका प्रहरी कार्यालय पथरीका प्रमुख डीएसपी विरदत्त पन्त, नगरपालिकाका शिक्षा शाखा प्रमुख नवीन खुलाल, वडा नम्बर २ का वडाध्यक्ष नैना राई, वडा नम्बर ३ का वडाध्यक्ष विजय लिम्बु लगायतको उपस्थिति रहेको थियो। प्रतियोगितामा उपस्थित अतिथि, दर्शक र खेलाडीहरुलाई पथरी–११ फुटबल क्लबका अध्यक्ष सुमन विकले शुभकामना ब्याक्त गर्नु भएको छ ।

प्रतियोगिताअन्तर्गत आइतबार न्युरोड टिम (एनआरटी) काठमाडौं र सहलेस युवा क्लब सिराहाबीच प्रतिस्पर्धा हुने आयोजक समितिका सचिव केशर राईले जानकारी दिएका छन्।
प्रतियोगिताको विजेता टोलीले ६ लाख रुपैयाँ तथा उपविजेता टोलीले ३ लाख रुपैयाँ नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ। प्रतियोगिताका लागि पथरी शनिश्चरे नगरपालिकाले १० लाख रुपैयाँ सहयोग गर्ने घोषणा गरेको छ।
















