साइनो समचारदाता
काठमाडौं । ७३ वर्षीया बरिष्ठ अभिनेत्री तथा नाट्यकर्मी सुभद्रा अधिकारीको निधन भएको छ । लामो समयदेखि दमको रोगबाट पीडित अधिकारीको शनिबार बिहान ८ बजे आफ्नै निवास डल्लुमा निधन भएको हो ।
चलचित्र कलाकार संघका अध्यक्ष रविन्द्र खड्काका अनुसार स्वर्गीय अधिकारीको शनिबार साँझ पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने छ । वि.स.२००३ सालमा गायिका नूरा देवीको कोखबाट काठमाडौंको असनमा जन्मकी थिइन् । उनी जन्मँदा गाइजात्रा मनाइरहेको थियो । उनको निधन गाइजात्राको एकदिन पछि भएको छ । २०२१ सालमा कृष्णप्रसाद अधिकारीसँग प्रेम विवाह गरिन् ।
उनीले जगतमर्दन थापाको नाटक ‘पलाँसको फूल’ मा उनले पहिलो पटक नायिका भएर काम गर्ने अवसर पाएकी थिइन् भने पहिलो नाट्य अभिनय ‘कची मचा’ थियो । ‘मनको बाँध’ उनी अभिनीत पहिलो फिल्म हो । सो फिल्म खेल्दा सुभद्रा २२ वर्षकी थिइन् । ‘कन्यादान’, ‘भाउजू’, ‘स्वर्ग’, ‘चिनो’, ‘कर्जा’, ‘मंगलसुत्र’, ‘आमा’, ‘आमाको माया’, ‘बाटो मुनीको फूल’, ‘बेहुली’, ‘मुना मदन’, ‘मसान’ लगायत दर्जनौं फिल्ममा अभिनय गरेकी थिइन् । बालकृष्ण समको निर्देशनमा ‘भक्त प्रह्लाद’, ‘बुहार्तन’, ‘नालापानी’ लगायत धेरै नाटकहरुमा उनले अभिनय गरेकी छन् । अधिकारीको ६३ वर्ष लामो कला यात्रालाई समेटिएको जीवनगाथा ‘कलाकार सुभद्रा अधिकारी जीवनगाथा’ पुस्तक पनि प्रकाशित छन् ।

















