साइनो समचारदाता
काठमाडौं । संघीय सरकारसँग प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका सांसदहरुले राष्ट्रिय परिचय पत्र वितरणको काम तत्काल स्थगित गर्न माग गरेको छ ।
शुक्रबार संघीय संसदको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा सांसदत्रय दिलेन्द्रप्रसाद बडु, अमरेशकुमार सिंह र देवेन्द्रराज कँडेलले सो माग गरेका हुन् । कानुन निर्माणका बारेमा संसदीय समितिमा छलफल भईरहेकै बेला, परिचय पत्र विवरणको कामलाई जारी राखेकोमा आपत्ति जनाउँदै तत्काल स्थगित गर्न सरकारसँग माग गरेका हुन् । ‘राष्ट्रिय परिचय पत्र तथा पञ्जीकरणको सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ माथिको छलफलमा भाग लिँदै काँग्रेस सांसद बडुले कानुन निर्माणको पाटोमा संसदीय समितिमा छलफल भईरहेकै बेला सो परिचय पत्र वितरण गरेर सरकारले गल्ती गरेको दावी गर्दै तत्काल स्थगित गर्न माग गरेका छन् । उनले राष्ट्रिय परिचय पत्र छपाई पनि सार्वजनिक खरिद ऐन र प्रचलित कानुन विपरित रहेको दावी गरे । अर्र्बौको बजेट खर्च गरेर सो परिचय पत्र छपाईको काम सरकारले सुरु गरेपनि सो सार्वजनिक खरिद ऐन र प्रचलित कानुन विपरित रहेकाले त्यसबारे सरकारले स्पष्टिकरण दिनुपर्ने कांग्रेस सांसद बडुको भनाई छ । कांग्रेस सांसद अमरेशकुमार सिंहले कानुन नै नबनाई कसरी राष्ट्रिय परिचय पत्र विवरण गरियो? भनि सरकारलाई प्रश्न गरे ।
बैठकमा समितिका सदस्यहरुले हालसम्म वितरण गरिएको राष्ट्रिय परिचय पत्रको कानुनी आधार बलियो नभएकाले खारेज गर्नुपर्नेमा जोड दिइएको थियो ।
















