साइनो समाचारदाता/ पथरी, ७ जेठ
शैक्षिक गुणस्तर अभिवृद्धि तथा विद्यालय–अभिभावक सम्बन्धलाई थप प्रभावकारी बनाउने उद्देश्यले सामुदायिक सिकाई केन्द्र पथरी शनिश्चरे ३ ले अभिभावकसँग अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ। कार्यक्रम बालकल्याण माध्यमिक विद्यालयको सभाहलमा आयोजना गरिएको थियो।

सिकाई केन्द्रकी अध्यक्ष कृष्ण कुमारी विश्वकर्माको अध्यक्षतामा सम्पन्न कार्यक्रमको प्रमुख अतिथि पथरी शनिश्चरे शिक्षा शाखा प्रमुख नवीन खुलालले गर्नु भएको थियो।
कार्यक्रममा विद्यालयका प्रधानाध्यापक रोहिणि घिमिरेले विद्यालयको वर्तमान शैक्षिक अवस्था, विद्यार्थी सिकाइ उपलब्धि तथा आगामी योजनाबारे जानकारी गराउँदै अभिभावकको सक्रिय सहभागिताले मात्रै विद्यालयको शैक्षिक गुणस्तरमा सकारात्मक परिवर्तन सम्भव हुने बताउनुभयो।
अन्तरक्रिया कार्यक्रममा सहजकर्ताका रूपमा सहभागी सामाजिक अभियान्ता गोमा दाहाल र शिक्षक तथा सञ्चारकर्मी विवेक न्यौपानेले अभिभावक, शिक्षक र विद्यालयबीचको सहकार्य विद्यार्थीको भविष्य निर्माणका लागि अत्यन्त महत्वपूर्ण रहेको धारणा राख्नुभयो। उहाँहरूले बालबालिकाको नियमित अध्ययन, अनुशासन, सकारात्मक व्यवहार र डिजिटल युगका चुनौतीबारे अभिभावक सचेत हुनुपर्नेमा जोड दिनुभयो।
प्रमुख अतिथि नवीन खुलाल ले सामुदायिक विद्यालयको शैक्षिक सुधारमा अभिभावकको भूमिका निर्णायक हुने उल्लेख गर्दै यस्ता अन्तरक्रियात्मक कार्यक्रमले विद्यालयप्रतिको विश्वास र सहकार्यलाई थप मजबुत बनाउने विश्वास व्यक्त गर्नुभयो।
कार्यक्रममा अभिभावकहरूले आफ्ना जिज्ञासा, सुझाव तथा अनुभवहरू खुलस्त रूपमा राखेका थिए। सहभागीहरूले विद्यालयको शैक्षिक वातावरण सुधार, विद्यार्थीको नियमितता, नैतिक शिक्षा तथा अभिभावक–विद्यालय समन्वयलाई अझ प्रभावकारी बनाउन यस्ता कार्यक्रम निरन्तर सञ्चालन हुनुपर्ने धारणा व्यक्त गरेका थिए।
कार्यक्रममा शिक्षक, अभिभावक, विद्यार्थी प्रतिनिधि तथा स्थानीय सरोकारवालाहरूको उल्लेख्य सहभागिता रहेको थियो।
















