गोपाल काफ्ले /पथरी, ३ जेठ
पथरी शनिश्चरे, मोरङको पथरी शनिश्चरे नगरपालि ४ र ८ को सीमामा पर्ने कुशलचोक देखि नगरको रिङरोड सम्मको सहिद मार्ग कालोपत्रे गर्ने कार्यप्रति स्थानीयवासी असन्तुष्ट बनेका छन् । भौतिक पूर्वाधार विकास मन्त्रालय कोसीको २० लाख र शहरी विकास तथा भवन कार्यालयको २० लाख गरी कुल ४० लाख रुपैयाँ बजेट निर्माण हुदै गरेको बाटो आज स्थानियले बन्द गरेका छन ।

स्थानीयवासीले बिहीबार विहानैदेखि बाँस तेस्र्याएर निर्माण कार्यमा अवरोध गरेका छन् । घर अगाडिको सडक कालोपत्रे हुने भए पछि स्थानियले खुशी हुँदै आँगन, चर्पी, ट्युववेल, पशुपंक्षीको खोर र फलफूलका रुख समेत हटाएर नम्बरी जग्गा सडकका लागि दिएका थिए । तत्कालिन भौतिक पूर्वाधार विकास मन्त्रालय कोसीका मन्त्री गणेश उप्रेती ‘शुशील’ र प्रदेश सांसद गीता तिम्सिनाको सिफारिसमा १० मिटर चौडा र १६ सय मिटर लामो सहिद मार्ग ए लेवलको ग्राभेल गर्न बजेट विनियोजन भएको पुर्व ससद लालबहादुर सुस्लिम मगरले बताउनु भयो । सभासद सुस्लिङका अनुसार सम्पूर्ण १६ सय मिटर सडकमा ग्राभेल गर्ने सिफारिस सहित मन्त्रालयमा पेश गरेर बजेट ल्याइएपनि वडाध्यक्षहरुले आफ्नो स्वार्थमा काम गरेको बताउनु भयो ।

१० मिटर चौडा भनिएको सडकमा केवल ३ मिटर मात्र कालोपत्रे गरिँदैछ । ड्रेन बेगर कालोपत्र गर्न लागिएको सडकको बाँकी भाग खाली छ । साँघुरो कालोपत्रे गर्दा दुईतर्फी बाटोको दुबै साईड होचो हुने र सवारीसाधन आवतजावतमा समस्या भैइ दुर्घटना बढ्ने भए पछि स्थानीयवासीले चिन्ता व्यक्त गरेका छन् । पूर्व जनप्रतिनिधिसमेत रहेका स्थानीय खड्ग सुस्लिङ मगरका अनुसार वडा नम्बर ४ र ८ का वडाध्यक्ष मिलेर प्राविधिक स्टिमेट संशोधन गरी छोटो दुरीको कालोपत्रे गर्न लागेको जनाइएको छ । ‘हामीले सिफारिस गरेअनुसार नभई मनपरी निर्णय गरेर काम गर्दा स्वीकार्य छैन’, उनले भने ।
बाटोमा धेरै खाल्डाखुल्डी भएको र ए लेवलको ग्राभेल गर्ने भए पछि स्थानिय हर्सित थिए तर छदाछदैको बाटो काटी सानो भए पछि स्थानियले निर्माण कार्यमा रोक लगाएका छन । स्थानीयवासीका अनुसार पहिले नै ग्राभेल गरिएको सडकमा बीच भागमा मात्रै थप तिन टिफर मिक्स गिटी हालेर आखामा छारो हालेको बताए । वर्षातका बेला माटो बग्ने र सडक अझै भासिने सम्भावना रहेको जनाउँदै स्थानीयले बाँकी भागमा समेत गिटी हालेर रोलर लगाउन माग गरेका छन् । बाँकी दायाँ–बायाँको माटो कालोपत्रे बराबर नभए दुर्घटनाको जोखिम उच्च हुने स्थानिय छवि राईले बताउनु भयो ।
स्थानीय शान्ता ठकुरीले भन्नुहुन्छ ‘हामीले गाइ गोठ, कुखुरा, बाख्रा, सुँगुरको खोर नभनी फलफुलका रुख काटी बाटो पिच गर्नका लागि जग्गा दिएका थियौं’‘अहिले बाटो त होइन मान्छे मार्ने पासो पो बनाउन थाले ।’ स्थानीय सरोकारवाला नागरिकलाई जानकारी नै नदिई डेढ कुन बेला कस्ले काम गर्दै छ थाहा हुन्न, वडाध्यक्षलाई भन्दा हामीले नै यस्तो गर्न लगाएको जवाफ दिएको स्थानिय निरबहादुर मगर बताउनु हुन्छ ।
यता वडा नम्बर ८ का वडाध्यक्ष नविन कार्कीले भने ठेकेदार कम्पनी सँग समन्वय गरी स्थानीयको माग अनुसार कालोपत्रे बाहेकको भागमा गिटी हाल्ने सहमति भएको बताउनु भयो । वडा नम्बर ४ का वडाध्यक्ष लोकनाथ न्यौपानेले कामको क्रमागत रुपमा हुदैछ कालो पत्र हुनासाथ बाटो पुरै एकै लेवलको हुने जानकारी दिएका दिनु भयो । निर्माण क्षेत्रमा कुन तहको सरकारको बजेट हो, कति बजेटको हो, कति लम्बाई चौडाइको सडक हो, कहिले सुरु कहिले सम्पन्न हुनेबारे भन्ने आयोजनाको सूचना पाटी समेत राखिएको छैन । स्थानीयले पारदर्शीतामा समेत आशंका गरेका छन् । स्थानीयवासीले आफ्नो माग पूरा नभएसम्म कुनै ‘उधारो आश्वासन’ नमानेर निर्माण कार्य रोक्ने अडान लिएका छन् ।
















