बेलबारी । मोरङको बेलबारी नगरपालिका–११ लक्ष्मीमार्गमा ‘७ औं बेलबारी आरजु राइस अन्तर्राष्ट्रिय आमन्त्रण गोल्डकप’ कात्तिक २ गतेदेखि हुने भएको छ ।

वर्षाका कारण स्थगित भएको गोल्डकप पुनः हुन लागेको हो । ‘बेलबारी नगरपालिकाको पहिचान, हाम्रो गौरव’ भन्ने मूल नाराकासाथ एलएक्स सिटी फुटबल क्लबले पुनः कात्तिक २ देखि १० गतेसम्म फुटबल प्रतियोगिता आयोजना गर्ने भएको हो । क्लब यसअघि असोज ११ गतेदेखि गर्ने खेलको तालिका सार्वजनिक गरेको थियो । तर, मौसम अनुकूल नहुँदा खेल सार्नुपरेको थियो ।
गत वर्ष ८ टोलीको सहभागिता रहे पनि यस पटक आयोजकसहित १० टोलीको सहभागिता छ ।आयोजक, डिफेन्डिङ च्याम्पियन काठमाडौंको बिग्रेड ब्वाइज क्लब, विभागीय टोली नेपाल पुलिस क्लब, काठमाडौंको चित्लाङ फुटबल क्लब, बुटबल लुम्बिनी फुटबल क्लब, झापा ११ फुटबल क्लब, सिरहाको सलहेश युवा क्लब, भोजपुर जिल्ला फुटबल संघ, धनकुटाको रारा फुटबल क्लब र भारत पश्चिमबंगालको दलसिंहपारा स्पोर्टस एकेडेमीको सहभागिता छ ।
प्रतियोगिताको विजेताले नगद ८ लाख र उपविजेताले नगद ४ लाखका साथ शिल्ड प्राप्त गर्ने छन् ।प्रतियोगितामा म्यान अफ दि म्याच, सर्वोत्कृष्ट खेलाडी, सर्वोत्कृष्ट गोलरक्षक, सर्वोत्कृष्ट डिफेन्डर, सर्वोत्कृष्ट मिड फिल्डर, सर्वाधिक गोलकर्ता, उदयिमान खेलाडी र सर्वोत्कृष्ट प्रशिक्षक पुरस्कार प्राप्त गर्ने छन् ।

















