साइनो समाचारदाता, दोलखा ९ साउन/ दोलखाको प्रसिद्ध भीमेश्वर मन्दिरको शीलामा पुन पसिना आएको छ । आज दिउँसो १२ बजेर ४५ मिनेटबाट भीमेश्वरको शीलामा पसिना आउन सुरु भएको हो ।

भीमेश्वर गुठी व्यवस्थापन समितिका सचिव राजेन्द्रनारायण श्रेष्ठले दिउँसो पौने १ बजेबाट भीमेश्वरको शीलामा पसिना आउन सुरु गरेको र अहिलेसम्म जारी रहेको बताउनुभयो । उहाँका अनुसार भीमेश्वरको शीलाको तल्लो भागको चारैतर्फबाट पसिना आईरहेको हो ।
यस अघि साउन ५ गते भीमेश्वर मन्दिरको शिलामा दुई घण्टा पसिना आएको थियो । भीमेश्वरको शिलामा साउन ५ गते शनिवार दिउँसो १ः ४७ बाट सुरु भएको पसिना ३ः ५१ मा रोकिएको थियोे । मन्दिरको शीलामा ४ दिनपछि पुन पसिना आएको हो ।
यस अघि पनि पसिना आउदा देशमा ठुला घटना हुने गरेको स्थानीयहरुको भनाइ छ ।देशमा हुने परिवर्तन तथा विभिन्न घटनाको पूर्व संकेत गर्ने विश्वास मानिएको दोलखा भीमसेनको शिलामा शनिबार दिउँसो करिब डेढ घण्टादेखि पसिना आईरहेको छ ।
शिलाको दायाँतिर पसिना आउँदा तत्कालिन राजपरिवार तथा राष्ट्र प्रमुखमा तथा बाँयातिर पसिना आउँदा जनतामा दुःख कष्ट आईपर्ने विश्वास रहिआएको छ । शिलाको सबैतिर पसिना आउँदा राष्ट्र प्रमुखदेखि नागरिकसम्म असर पर्ने खालको घटनाको पूर्वसंकेत मानिने विश्वास छ । भगवान भीमसेन कुनै किसिमको परिश्रमजन्य कार्य वा लडाँइमा गएर आउँदा शिलामा पसिना देखिन्छ भन्ने जनविश्वास छ ।
सातौं शताब्दीदेखि यो मन्दिर अस्तित्वमा रहिआएको किंबदन्ती रहेपनि वि.स १९९० देखि शिलामा पसिना आएको भीमेश्वर मन्दिर गुठी तथा पूजा व्यवस्थापन समितिको तथ्याङ्कमा उल्लेख छ । यसअघि २०७८ को बैशाख २५ गते शिलाको दुवैतर्फ पसिना आएको थियो ।
भीमेश्वरमा पसिना आएको थाहा पाएपछि भक्तजनहरु भेला भएर घण्टी बजाउने, धुपबत्ती गर्ने, र बाजागाजा बजाएर शान्तिको कामना गरिरहेका छन् ।
तत्कालिन समयमा भिमेश्वरलाई पसिना आउदा राज परिवारवाट क्षमा पुजा हुने गरेपनी हाल भीमसेनको शिलालाई पसिना आएमा राष्ट्रपतिले क्षमा पूजा गर्नुपर्ने चलन छ । क्षमापूजाका लागि पसिना आएको कपास काठमाडौँ राष्ट्रपति कार्यालय पठाउने गरिएको छ ।
मन्दिरका शिलामा पसिना देखिएकाले पूजाआजा गरिँदै गरिएको स्थानीय बताए । भीमेश्वरको चट्टान (शिला) को विभिन्न भागमा पानीको थोपा निस्कँदै झर्ने क्रमलाई ‘पसिना’आएको विश्वास गरिन्छ ।
















