धरानमा देखिएको खानेपानी समस्याको दीर्घकालीन समाधानका लागि कोशी नदीबाट खानेपानी ल्याउने बजेट विजिनयोजन गर्न माग राख्दै धरान उप महानगरपालिकाले प्रधानमन्त्री पुष्पकमल दाहाललाई ज्ञापन पत्र बुझाएको छ ।
धरानका मेयर हर्क साम्पाङ र उप मेयर आइन्द्र विक्रम बेघाले प्रधानमन्त्रीलाई भेटी आर्थिक वर्ष ८०र८१ को बजेटमा खानेपानी धरान ल्याउने कार्यक्रम बजेटमा समेट्न माग सहित ज्ञापन पत्र बुझाएको हो ।उप महानगरले प्रधानमन्त्रीलाई बुझाएको माग पत्रमा धरानको खानेपानी समस्या समाधान गर्न अनेक प्रयास भएपनि दीर्घकालीन समस्या समाधान गर्न कोशीको पानी ल्याउनु पर्ने आवश्यक रहेको उल्लेख छ । माग पत्रमा केशीको खानेपानी धरान ल्याउन सङ्घीय खानेपानी मन्त्रालयले डीपीआर समेत तयार पारेकाले आवश्यक बजेट विनियोजन गर्न माग गरिएको छ । उप महानगरले बानिया टार जलाशय निर्माणका लागि पनि बजेट विनियोजन गर्न माग राखेको छ ।
धरानको वडा नम्बर २० मा रहेको बानिया टारमा जलाशय निर्माण गर्न सके बर्खाको समयमा सर्दु र खर्दु खोलामा भएको पानीलाई जलाशय बनाई सञ्चित गर्न सकिने र यो पानीले कम्तीमा ४ महिना खानेपानी पर्याप्त हुने ज्ञापन पत्रमा उल्लेख छ । यसका लागि साँढे १ अर्बको बजेट आवश्यक पर्ने समेत माग पत्रमा उल्लेख छ । यस्तै धरान उप महानगरले अहिलेको खानेपानी संरचना सुधार र पम्प तथा मोटर खरिदका लागि पनि बजेट विनियोजन गर्न माग गरेको छ ।
ज्ञापन पत्रमा सङ्घीय सहरी विकास मन्त्रालयबाट गठित टोलीले पम्प र मोटरहरू खरिद गर्न आवश्यक रहेको सुझाव दिएकाले १० करोड रुपैयाँ बजेट विनियोजन गरिदिन धरान उप महानगरले माग गरेको छ ।धरानमा लामो समयदेखि खानेपानीको समस्या भएकाले समस्या समाधानका लागि आगामी बजेटमा कार्यक्रम र बजेट माग गर्न माग पत्र बुझाएको धरान उप महानगरका उप मेयर आइन्द्रबिक्रम बेघाले बताए । उनले धरानका समस्या समाधान गर्न अन्य मन्त्रालयहरूमा पनि बजेट माग गर्दै सरकारको ध्यानाकर्षण गराएको जानकारी दिए ।
आगामी बजेटमा धरानको सडक खानेपानी र पूर्वाधार विकासकालागि बजेट विजिनयोजन गर्न माग राख्दै सरकारलाई कार्यक्रम हाल्न ध्यानाकर्षण गराएको बेघाले बताए ।भेटका क्रममा प्रधानमन्त्रीले धरानको खानेपानी समस्या समाधानका लागि आफू सकारात्मक भएको प्रतिक्रिया दिएका छन् । उनले बजेटले धरानको खानेपानी समस्याका लागि बजेटले सम्बोधन गर्ने आश्वासन दिएको बेघाले बताए ।
















