फालेलुङ । पाँचथरको फालेलुङ गाँउपालिका ३ ताङ्लेपाका २८ बर्षीय एक युवकले गाँउमै साबुन उद्योग खोलेका छन् ।
बिदेशबाट फर्किएपछि ताङ्लेपाका प्रयास केरुङले ‘फालेलुङ साबुन उद्योग’ सञ्चालनमा ल्याएका हुन् । २५ लाखको लगानीमा सञ्चालित उद्योगबाट केरुङले ‘फालेलुङ लुगा धुने साबुन’ उत्पादन सुरु गरेका हुन् ।
साबुन उत्पादनका लागि चाहिले कच्चा पदार्थ बिराटनगरबाट ल्याउने गरेको उनले सुनाए । ‘उद्योगबाट दैनिक दुई सय वटा साबुन उत्पादन गर्न सकिन्छ,’ केरुङले भने ‘साबुन खपतको अवस्थालाई हेरेर उत्पादन गरिरहेको छु ।’
उद्योगबाट २५० ग्रामको साबुन उत्पादन भईरहेको छ । आफूले उत्पादन गरेको साबुन प्रतिगोटा ३५ रुपैँयाले बेच्ने गरेको उनले सुनाए । ‘यही साबुन व्यापारीले ४५ रुपैँयासम्म बिक्रि गर्छन्,’ केरुङले भने । मलेसियामा पाँच बर्ष बिताएर स्वदेश फर्किपछि उनले उद्योग सञ्चालन गरेका हुन् । बिदेशमा कमाएको पैसा उद्योग सञ्चालनका लागि खर्चिएको उनको भनाई छ ।
















