साइनाे समाचारदाता/काेशीटापु
असार २५, कोसी ब्यारेजमा जलचरका लागि बनाइएका दुईवटा फिस ल्याडर सञ्चालनमा नआउँदा डल्फिनलाई समस्या बढेको छ । जलचरका लागि बनाइएका दुईवटा फिस ल्याडर सञ्चालनमा नआउँदा डल्फिन कोसी ब्यारेज पार गर्न नपाएका हुन् ।
जलचर प्राणी ९डल्फिन र माछा० ब्यारेज वारपार गर्ने दुईवटा बाटा छन् । कोसीमा रहेका १५ देखि १८ वटा डल्फिन उक्त बाटो बन्द हुँदा ब्यारेज पार गर्न पाएका छैनन् । जलचर प्राणीले नेपाल तर्फबाट भारततर्फ पानीको वेगसँगै सहज पार हुने र भारततर्फबाट नेपालतर्फ आउन फिस ल्याडरको बाटो प्रयोग गर्ने गरेको कोसी टापु वन्यजन्तु आरक्षण केन्द्रका प्रमुख रामचन्द्र खतिवडाले बताए । हाल डल्फिन, माछा, घडियाल गोहीलगायतका जलचर प्राणीले कोसी ब्यारेज वारपार गर्न नसकेको उनले बताए ।

४०/५० वर्ष अघि बनेको कोसी ब्यारेजको ६ र ५२ नम्बर गेटमा बनेका फिस ल्याडर बन्द रहेका छन । फिसल्याडर सञ्चालनमा आए डल्फिन र ठूला प्रजातिका जलचर प्राणी कोसी ब्यारेज पार गर्न सक्छन् । निर्माण भएको एक/दुई वर्षपछि फिस ल्याडर बन्द रहेका कारण डल्फिनहरू ब्यारेज पार गर्न पाएका छैनन् । केही समयअघि सुनसरीको बराहक्षेत्रमा डल्फिनहरू देखिने गरेका थिए ।
जाडो मौसममा कोसी पार गरेका डल्फिन हाल ब्यारेजको दक्षिण भारतीय क्षेत्रतर्फ आएर जाम भएर बसेका छन् । डल्फिन जाडोमा तल्लो भू–भागमा झर्ने र गर्मी मौसममा सन्तान वृद्धिका लागि माथिल्लो भू–भागमा जाने गरेको आरक्षण केन्द्रका प्रमुख खतिवडाले बताए ।
जलचर संरक्षण ऐनका अनुसार यसको सञ्चालन गर्ने, नियमन गर्ने दायित्व जिल्ला प्रशासन कार्यालय र प्रमुख जिल्ला अधिकारीको हुने उल्लेख गरिएको भन्दै प्रमुख जिल्ला अधिकारीलाई आफूहरूले भारतीय पक्षलाई सञ्चालनका लागि निर्देशन दिन अनुरोध गरिएको जानकारी दिए ।
फिस ल्याडर सञ्चालनमा आए डल्फिनले र माछाले कोसी पार गर्न सक्ने तथा डल्फिन र माछाको संख्या बढ्ने उनले जानकारी दिए । नेपाल र भारतको सहमतिमा फिस ल्याडर बने पनि केही वर्ष सञ्चालनमा आएर बन्द छ ।