साइनो समाचारदाता । नवनियुक्त शहरी विकासमन्त्री प्रभु साहले जनता गाउँ छाडेर शहरतिर आकर्षित भइरहेकाले नयाँ शहर स्थापना गर्नुपर्नेमा जोड दिनुभएको छ । मन्त्रालयमा आज पद बहालीपछि आयोजित स्वागत एवं बिदाइ कार्यक्रममा उहाँले यसअघि विसं २०७४ मा मन्त्रालय सम्हालेका बेला विभिन्न स्थानमा नयाँ शहर निर्माण गर्ने निर्णय गरेको स्मरण गर्नुभयो । त्यसबेला जोखिम मोलेर भए पनि विकासका लागि आफूले शहर बनाउने स्थान तोकेको उहाँको भनाइ थियो ।
“सही कामका लागि जोखिम मोल्न जनप्रतिनिधि र कर्मचारी तयार हुनुपर्छ, यस्तो नभएकैले सम्पन्न विदेशतिर र विपन्न विचलित हुने अवस्था छ, अब यसलाई रोक्नुपर्छ”, उहाँले भन्नुभयो । गत असोज २८ गतेदेखि शहरी विकास मन्त्रालयको कार्यभार सम्हाली यही पुस १० गतेको मन्त्रिमण्डल पुनर्गठनमा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री बन्नुभएका कृष्णगोपाल श्रेष्ठले तलैबाट मन्त्री बनेकाले सधैँ तल्लो वर्गलाई हेर्नुपर्नेमा जोड दिनुभयो ।

विघटित प्रतिनिधिसभामा रौतहट ३ नं क्षेत्रबाट निर्वाचित मन्त्री साह यसअघि पनि शहरी विकासकै कार्यभार सम्हाली सक्नुभएकाले अनुभवी मानिनुहुन्छ । उहाँ विसं २०६४ देखिका सबै निर्वाचनमा रौतहट–३ बाटै निर्वाचित हुँदै आउनुभएको छ ।
रासस
















