साइनो समाचारदाता
काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर थप १२ सय ४६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । बिहीबार स्वास्थ्य मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले सो जानकारी दिएका छन् । हालसम्म नेपालमा कुल संक्रमितको संख्या ५० हजार नाघेको छ । गौतमका अनुसार आजसम्म कोरोना संक्रमितको कुल संख्या ५० हजार ४६५ पुगेको छ ।
हाल देशभर १४ हजार ४४८ जना सक्रिय संक्रमितहरु रहेका छन् । जसमा संस्थागत आइसोलेशनमा ८ हजार १० रहेका छन् भने होम आइसोलेशनमा ६ हजार ४३८ जना रहेका छन् । यस्तै हालसम्म ७१ प्रतिशत संक्रमित निको भएका छन् । मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभर १ हजार ८१८ जना कोरोना संक्रमणमुक्त भएसँगै निको हुनेको कुल संख्या ३५ हजार ७०० पुगेको छ । यस्तै आज ११ हजार १४४ जनाको पीसीआर परीक्षण भएको छ । यसैबीच कोरोनाबाट थप ५ जनाको मृत्यु भएको छ। यससँगै कोरोनाबाट मृत्यु हुनेको कुल संख्या ३१७ पुगेको छ ।
















