साइनो समाचारदाता । बाराबाट १८० किलोग्राम गाँजासहित एउटा कार सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको छ । सशस्त्र प्रहरी छिन्नमस्ता बाहिनी महोत्तरीको टोलीले बारा कोल्ची नगरपालिका १ श्रीपुर मसहर्नास्थित सिम्रनगढ जाने बाटोबाट सोमबार बिहान गाँजासहित कार बरामद गरेको हो ।
सशस्त्र प्रहरीका अनुसार प्रदेश नम्बर ३ ०२२च ८१३४ नम्बरको कारबाट उक्त परिमाणको गाँजा बरामद गरिएको हो । कारभित्र प्लाष्टिकले पोको पारेको २० किलोको ७ पोका र १० किलोको ४ पोका गाँजा बरामद भएको सशस्त्र प्रहरीले जनाएको छ । विशेष सूचनाको आधारमा कार समात्न आकस्मिक रुपमा सशस्त्र प्रहरीको टोली निस्केको थियो ।
प्रहरीलाई देखेपछि केही परै कार रोकेर चालक फरार भएको सशस्त्र प्रहरी दुई नम्बर प्रदेश प्रमुख प्रहरी नायब महानिरीक्षक कृष्णभक्त ब्रह्मचार्यले बताए । प्रहरीले फरार व्यक्तिको खोजी गरिरहेको छ । गाँजा भारततर्फ तस्करीका लागि मकवानपुरबाट लगिएको हुनसक्ने आशंका प्रहरीको छ ।
















