साइनो समाचारदाता
सिरहा । भन्सार कार्यालय माडर सिरहाको लापरबाहीले गर्दा करौडौं मुल्यका सवारीसाधनहरु कबाडीमा परिणत हुँदै गएका छन । लिलामी प्रक्रियामा लैजानुपर्ने सवारी साधनलाई भन्सार कार्यालयले नै कवाडी बनाउदै लगेको हो ।
सिरहास्थित माडर भन्सार कार्यालयको परिसरमा पुराना सवारी साधन ग्यारेजमा जस्तै थन्किएका छन । समयमा लिलामी गरे ठुलो रकम राजस्व संकलन हुने भएपनि वर्षांै देखि खुला आकासमुनि थन्किएका चारपाङग्रे र दुई पाङग्रे सवारी साधन कवाडीमा परिणत भएका छन । भन्सार कार्यालयले वेवास्ता गरिदिदा सवारी साधन लिलामीबाट राम्रो राजस्व असुली हुने मौका गुम्ने गरेको स्थानीय शम्भु साहले बताए ।
लिलामी प्रकृयालाई वेवास्ता गर्दा दिनानुदिन राम्रा पाटर््स पनि खराब हुँदै जाने गरेका छन । भन्सार कार्यालयमा प्राविधिक नहुँदा र यातायात कार्यालयले प्राविधिक नपठाएका कारण लिलामी प्रक्रियामा ढिलाइ भएको भन्सार कार्यालयका प्रमुख मानबहादुर पौडेलले जनाएको छन ।
भन्सार कार्यालयको लिलामी गर्न नसकिएको जवाफ भने विश्वसनीय छैन । यातायात व्यवस्था कार्यालय लहानले भन्सार कार्यालयको भनाईको खण्डन गरेको छ । आर्थिक वर्ष २०७६/०७७ मा दुई पटक कार्यालयका प्राविधिकले भन्सार कार्यालय पुगेर सवारीको मूल्यांकन गरिदिएपनि लिलामी सुरु नभएको यातायात व्यवस्था कार्यालय लहानका मेकानिकल इन्जिनियर नितेश्वर राय यादवको दावी छ ।
यातायात कार्यालयले नै गरेको मुल्यांकनको आधारमा सप्तरीको भन्सारमा रहेका गाडीहरु लिलामी भैसकेका छन । तर सिरहामा प्रक्रिया नै अघि बढेको छैन । समयमा लिलाम प्रक्रिया अघि नबढाउदा भन्सार कार्यालय र प्रहरीले भन्सार छलेर ल्याउने क्रममा कारवाही गरी नियन्त्रणमा लिएको चालु अवस्थाका सवारी साधन वर्षौैंसम्म भन्सारमा थन्किएपछि कवाडीमा परिणत हुँदै गएका छन ।
















