साइनो समाचारदाता
काठमाडौं । २४ घण्टामा थप ७ सय ४० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जनाएका छन् । संख्या बढेसँगै कोरोना संक्रमितको कूल संख्या १५ हजार २५९ पुगेको छ ।
अहिलेसम्म प्रदेश नम्बर १ मा ६ सय ७४, प्रदेश नम्बर २ मा ३ हजार ९ सय ९५ र बागमती प्रदेशमा ५ सय ७ जनामा कोरोना पोजेटिभ देखिएको छ । गण्डकी प्रदेशमा ११ सय १८, प्रदेश नम्बर ५ मा ३ हजार ८ सय ९१, कर्णाली प्रदेशमा १ हजार ५ सय ३९ र सुदूरपश्चिम प्रदेशमा ३ हजार ५ सय ३५ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।
८ सय २३ जनाले कोरोना जिते
बितेको २४ घण्टामा ८ सय २३ जनाले कोरोनाभाइरस संक्रमण जितेसगै संक्रमण निको हुनेको कूल संख्या ६ हजार १ सय ४३ पुगेको छ । कोरोनाबाट काठमाडौं नयाँ बानेश्वरका ८५ वर्षीय पुरुषको मृत्यु भएको छ । उनको असार १७ गते मृत्यु भएको गौतमले जानकारी दिए । योसँगै कोरोनाबाट मृत्यु हुनेको संख्या ३२ पुगेको छ । मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले सरकारी, सामुदायिक र नीजि अस्पतालहरुमा समेत कोरोना संक्रमितको उपचारको व्यवस्था मिलाइएको बताए ।
आजै ४ हजार ४ सय ८३ वटा नमुना परीक्षण
शुक्रबार पीसीआर विधिबाट ४ हजार ४ सय ८३ वटा नमुना परीक्षण भएका छन् । आजसम्म पीसीआर विधिबाट २ लाख ४२ हजार २ सय ४७ वटा परीक्षण भएका छन् । आजसम्म ३ लाख ५ हजार ६ सय २९ जनाको आरडिटी परीक्षण भएको छ । अहिले देशभरीका क्वारेन्टिनमा ३५ हजार ४ सय ७२ रहेका छन् । यस्तै देशका विभिन्न अस्पतालका आइसोलेसनमा ९ हजार ८४ जना उपचाररत रहेका छन् ।
















