साइनो समाचारदाता
विराटनगर । कोरोना भाइरस (कोभिड–१९)बाट संक्रमित मध्ये ४ सय जना निको भएको मुख्यमन्त्री मन्त्रिपरिषद्को कार्यालय विराटनगरले जनाएको छ ।
असार १८ गते जारी सूचना अनुसार ३२ महिला र ३ सय ६८ पुरुष डिस्चार्ज भएको हो । झापाबाट सबैभन्दा बढी १ सय ७२ जना डिस्चार्ज भएको बताइएको छ । त्यसपछि मोरङबाट ९५ जना, सुनसरीबाट ५९, उदयपुरबाट ४१ जना निको भएका छन् ।
१ मा ६ सय १५ जनामा संक्रमण
हालसम्ममा प्रदेश नम्बर १ मा ६ सय १५ जनामा संक्रमण भएको पुष्टि भएको छ । ती मध्ये १ सय ३ जना महिला छन् ।
आज ११ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा ४ महिला र ७ पुरुष गरी ११ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार विराटनगर र धरानका प्रयोगशालामा गरिएको परीक्षणमा १० र काठमाडौँको टेकुमा गरिएको परीक्षणमा १ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । मोरङमा ६, सुनसरीमा ३, खोटाङ र झापामा एकरएक जनामा सङ्क्रमण देखिएको छ । सङक्रमितहरुको स्वास्थ्य अवस्था सामान्य रहेको र उनीहरुको व्यवस्थापनको काम भइरहेको मन्त्रालयले जनाएको छ ।
















