
साइनो समाचारदाता
काठमाडौँ । नेपाली कांग्रेसको तर्फबाट प्रतिनिधि सभाका सदस्य भएकी ज्ञानकुमारी छन्त्यालको मुटु रोगका कारण आज विहान निधन भएको छ । । उनको आजै पशुपति आर्यघाटमा दाहसंस्कार गरिएको छ ।
समानुपातिक प्रणालीबाट प्रतिनिधि सभा सदस्य भएकी छन्त्यालको बाँसबारी स्थित शहिद गंगालाल हृदय रोग केन्द्रमा उपचारको क्रममा भएको असामयिक निधन भएको हो । वि.स. २०१४ सालमा बाग्लुङ्ग जिल्लामा जन्मिएकी, ढोरपाटन नगरपालिका वडा नं. १ बुर्तिबाङ्ग निवासी स्व. छन्त्याल वि.स. २०७० मा वाग्लुङ्गको निर्वाचन क्षेत्र नं. ३ बाट संविधान सभा सदस्य पदमा निर्वाचित भएकी थिइन् ।

वि.स. २०४६ सालबाट नेपाली कांग्रेस पार्टीमा आबद्ध भई राजनीतिक यात्रा सुरु गरेकी छन्त्यालले नेपाल महिला संघ जिल्ला अध्यक्ष, नेपाली कांग्रेस जिल्ला कार्यसमिति सदस्य, जिल्ला कार्यसमितिको सल्लाहकार, महासमिति सदस्य जस्ता पार्टीको विभिन्न पदमा रहेर पार्टीमा क्रियाशिल थिइन् । राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक क्षेत्र र ग्रामीण विकासका कार्यहरुमा सक्रिय रहँदै आएकी उनको निधनबाट पार्टीले एक निष्ठावान एवं कुशल महिला नेतृलाई गुमाएको र अपूरणीय क्षति पुगेको कांग्रेसले जनाएको छ । उनी नेपाल छन्त्याल संघका सल्लाहकार समेत थिइन् । स्वर्गीय छन्त्यालप्रति सम्मान प्रकट गर्दै २०७७ असार १८ गते विहिवारका दिन पार्टी केन्द्रीय कार्यालय वन्द गर्नुका साथै केन्द्रीय कार्यालयमा पार्टीको झण्डा आधा झुकाइने र भोलि पार्टीको कुनै पनि औपचारिक कार्यक्रम नगर्ने मुख्य सचिब कृष्णप्रसाद पौडेल बताएका छन् ।
यसैबीच कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आइतबारसम्मका लागि स्थगित भएको छ । शोक प्रस्ताव पारित गर्दै बैठक आइतबारका लागि बोलाइएको हो ।
मंगलबारबाट सुरु भएको बैठकमा महाधिवेशन कार्यतालिका, नागरिकता विधेयक लगायतका विषयमा छलफल भइरहेको छ ।
















