
साइनो समाचारदाता
पथरी । लिम्बु विद्यार्थी मञ्चले ऐतिहासिक मुकुमलुङलाई पाथिभरा भन्ने कृत्रिम नाम हटाएर आफ्नै पहिचान बोकेको नाम मुकुमलुङ तत्काल कायम गर्नुपर्ने माग राखेको छ ।
लिम्बुवानको विभिन्न स्थानहरुमा धार्मिक, सास्कृतिक, पुरातात्विक तथा ऐतिहासिक क्षेत्रहरुलाई बिकासको नाममा अतिक्रमण बढेकोले नेपाल सरकारलाई ध्यानाकर्षण पत्र मार्फत ४ बुदे सुझाव तथा माग प्रस्तुत गरेको छ । मञ्चकी अध्यक्ष दीपा लक्समले सस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका मन्त्री योगेश भटटराईलाई ध्यानाकर्षण गराएकी हुन् । लिम्बुवानको ताप्लेजोङ जिल्लामा पर्ने मुक्कुमलुङ क्षेत्रमा केवुलकार लगायत सञ्चालनको लागि परियोजना सुरु हुदै गर्दा योजना सञ्चालन गर्ने निकायले मुकुम्लुङ क्षेत्र भित्रको ऐतिहासिक पक्षहरुलाई कुनैपनि प्रकारले नामेट पार्ने, भंग गर्ने जस्ता कार्य गर्न सक्ने भएकाले मञ्चले गम्भीर ध्यानाकर्षण गराएको हो ।
मञ्चद्धारा प्रस्तुत ४ बुदे सुझाव तथा मागहरु
१. ऐतिहासिक मुकुमलुङलाई पाथिभरा भन्ने कृत्रिम नाम हटाएर आफ्नै पहिचान बोकेको नाम मुकुमलुङ तत्काल कायम गरियोस ।
२. कुनैपनि भौतिक विकास परियोजनाहरु ल्याउदा नेपालको संविधानको धारा ३२ ले प्रदान गरेको भाषा, सभ्यता,संस्कृतिको संरक्षण तथा संवर्धन गर्ने हक, अन्तराष्ट्रिय महासन्धि आईएलओ नं. १६९, युनेस्को घोषणा पत्र सन २०१३, आदिवासी जनजातिहरुको अधिकार सम्बन्धि संयुक्त राष्ट्रसंघीय मानव अधिकारको घोषण पत्र (युएनड्रीप), स्थानिय सरकार सञ्चालन ऐन २०७४, प्राचिन स्मारक संरक्षण ऐन २०१३ , २०७४ कार्तिक ८ गतेको सर्वोच्च अदालतको परमादेश आदि राष्ट्रिय तथा अन्तराष्ट्रिय कानुन र सन्धीहरुलाई ध्यानमा राखियोस ।
३. कुनैपनि विकास परियोजनामा स्थानिय निकाय, प्रदेश सरकार, सम्बन्धित समुदाय संघ सस्था लगायतको सर्वोपक्षिय सहमति र सहकार्यमा मात्र कार्य सुचारु गरियोस ।
४. विकासको नाममा लिम्बुवानको विभिन्न ऐतिहासिक, सास्कृतिक तथा पुरातात्विक क्षेत्रहरुलाई योजनावद्ध रुपमा अतिक्रमण गर्ने कार्य भईरहेकोछ (जस्तै भर्खरै पान्थर जिल्लाको कुम्मायक गा.पा.४ र तेह्रथुम जिल्लाको फेदाप गा.पा. १ को घटना ) त्यस किसिमको कार्य तुरन्त रोकियोस ।