साइनो संवाददाता रौतहट । रौतहटको कटहरिया नगरपालिका–९ डुमरिया गाउँ छेउमा रहेको झाँझ नदिमा नुहाउन गएका एकजना बालक बेपत्ता भएका छन् । सो नदीमा नुहाउन गएका ३ जना मध्ये १ बालक नदीमा बगेर बेपत्ता भएका हुन् । स्थानीय मुकेश पाश्वानका १० बर्षिय छोरा सुरज पाश्वान नुहाउने क्रममा नदिमा बेपत्ता भएको ईलाका प्रहरी कार्यालय गरुडाका प्रमुख डिएसपी ज्ञानकुमार महतोले बताए ।
सँगै नुहाउन गएका ३ जना बालक मंगलबार दिउँसो उक्त नदीमा बेपत्ता भएका थिए । लगत्तै स्थानीय र प्रहरीको टोलिले २ जनालाई सकुशल उद्दार गरेको र सुरज बेपत्ता भएको डिएसपी महतोले जानकारी दिए । बेपत्ता बालकको खोजी भैइरहेको प्रहरीले जनाएको छ ।पछिल्लो केही दिनदेखि वर्षासँगै रौतहटका नदी खोलामा बाढी समेत आउन सुरु भएको छ । बाढी आउने मौसम सुरु भएपछि जिल्ला प्रहरी कार्यालय रौतहटले एक सूचना जारी गर्दै आआफ्नो बालबालिकालाई निगरानी गर्न र कुनै अप्रिय घटना हुन नदिन जिल्लाबासिलाई आह्वान समेत गरेको छ ।
















