साइनो समाचारदाता
ताप्लेजुङ । जिल्लाको मुकाम फुङलिङमा भएको आगालागी क्षेत्रको संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्री योगेश भट्टराईले आइतबार विहान अनुगमन गरेका छन् । मन्त्री भट्टराइले अनुगमनपछि स्थानीय सरोकारवालासँग छलफल समेत गरेका छन् । छलफलमा मन्त्री भट्टराईले ताप्लेजुङलाई आगालागी, बाढी, पहिरोसहित प्राकृतिक जोखिमलाई न्यूनिकरण गर्न सरकारले विषेश कार्यक्रम ल्याउने आश्वासन दिए । उनले आगलागीपछि पुनःस्र्थनामा र अन्य राहत सहयोगमा समेत आफ्नो तर्फवाट आवश्यक पहल गर्ने प्रतिवदता व्यक्त गरेका छन् ।

तस्वीरः रेडियो तमोर ।
७ करोड ६५ लाखको क्षति
शुक्रवार राती भएको आगलागीबाट ७ करोड ६५ लाख ७२ हजार ७०० रुपैंया बराबरको क्षति भएको प्रारम्भिक तथ्याङ्क संकलन गरिएको छ । ८ वटा घर जलेर नष्ट भएको आगोलागी भएको कूल क्षति मध्ये व्यक्तिगततर्फ ७ करोड ४३ लाख २५ हजार र संस्थागततर्फ २२ लाख ४७ हजार ७०० रुपैंया क्षति भएको हो । ७ वटा घर पूर्ण रुपमा जलेको छ भने आगो फैलन नदिन आगो लाग्दै गरेको १ घर भत्काईएको थियो। अरु केहि घरमा आशिंक क्षति भएको छ । ८ घरमा रहेका २९ घर परिवारका मानिस बिस्थापित भएका छन् । आगोले ६ वटा संस्थागत निकायहरुको कार्यालय तथा संरचनामा क्षति गरेको पाईएको क्षति बिवरण संकलनमा संलग्न जिल्ला रेडक्रस सोसाइटीका मन्त्री विकास गौतमले जानकारी दिए ।
राहत वितरण
आगलागी पीडित परिवारलाई राहत वितरण सुरु गरेका छन् । फुङलिङ नगरपालिकाले तत्कालका लागि अत्यावस्यक पर्ने दाल, चामल लगायतका खाद्यान्न सामाग्री वितरण गरिएको हो । नगरप्रमुख छत्रपति प्याकुरेलका अनुसार आगलागी प्रभावित हरेक परिवारलाई राहत स्वरुप २५ किलो चामल, २ किलो चिनी, २ लिटर खाने तेल, २ किलो नुन, ३ किलो आलु, २ किलो दाल, र १ प्याकेट चिउरा वितरण गरिएको छ । क्षतिको पुर्ण विवरण संकलन पछि मात्रै आफ्नो नियम अनुसार थप राहत प्रदान गर्ने नगरपालिकाले जनाएको छ । शनिबार भने विहान नेपाल रेडक्रस जिल्ला शाखाले पाल, कम्बल लगायतका गैर खाद्यान्न सामाग्री वितरण गरेको थियो । यस्तै ताप्लेजुङ बहुउद्धेश्यि सहकारी संस्था र न्यू कंञ्चनजंघा सहकारी संस्थाले समेत नगदै सहयोग गरेका छन् ।
















