साइनो समाचारदाता
ताप्लेजुङ । आदिवासी याक्थुङ(लिम्बु) समुदायको परम्परागत धर्मका रूपमा युमा धर्मलाई प्रचार गर्दै आएको युमा साम्यो महासभा नेपालले पछिल्लो पटक आफ्नो साङ्गठनिक क्रियाकलापलाई तीव्रता दिएको छ । धार्मिक जागरण तथा मौलिकता संरक्षणका लागि आफ्नो सक्रियता बढाएको युमा साम्यो अभियन्ताहरूले जनाएका छन् ।

याक्थुङ मुन्धुमले भौगोलिक रूपमा रेखाङ्कन गरेको महत्वपूर्ण क्षेत्र मानिने ताप्लेजुङ जिल्लामा महासभाले दुई साता लामो जागरण अभियान सम्पन्न गरेको सचिव भीमसेन लिङ्दमले जानकारी गराए । उनले करिब १६ दिने अभियानमा सङ्गठन विस्तार, अन्तरक्रिया, प्रशिक्षण कार्यक्रम, साँस्कृतिक अनुष्ठान, स्थानीय सरकार एवम् प्रशासनलाई ज्ञापनपत्र लगायतका कामहरू सम्पन्न गरिएको जानकारी दिए । सचिव लिङ्दमका अनुसार माघ ११ गते शनिबार फक्ताङलुङ गाउँपालिकास्थित ताप्पेथोकमा युसाम गापा शाखाको आयोजनामा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको थियो । याक्थुङ मुन्धुम र युमा धर्म विषयक अन्तरक्रियामा केन्द्रीय सल्लाहकार तुम्याहाङ लक्ष्मण मेन्याङ्वो, केन्द्रीय सचिव लिङ्दम, केन्द्रीय सदस्यहरू जगतबहादुर योङहाङ, भीम केदेम, सुजन थक्लुङ, पदम माबो, आदाङ्बे सम्बाहाङ्फे लगायत तुत्तु तुम्याहाङ, फेदाङ्मा, साम्बा, येबा, येमाहरूको उपस्थिति रहेको थियो ।

माघ १२ गते आइतबार फक्ताङलुङ गापा–२ खेजेनिमस्थित खाम्बोत्लिङ नाहाङमा यकमा परम्परागत धार्मिक प्रचलनअनुसार नाहेन साक्मा(आँखी डाही छेक्नु) अनुष्ठान येबाहरूले सम्पन्न गरेको महासभाले जनाएको छ । सम्पूर्ण याक्थुङहरूको चो?लुङ(पवित्र शीर) मानिने खाम्बोत्लिङ नाहाङ्मा यकलाई प्राकृतिक अवस्थामै संरक्षण गर्नुपर्ने स्थानीयवासीहरूले जोड दिएको महासभाका केन्द्रीय सदस्य पदम माबोले बताए । सोही दिन याक्थुङ जाति र मुन्धुमसँग सम्बन्धित फक्ताङलुङ गापामा पर्ने मुन्धुमी, साँस्कृतिक, ऐतिहासिक र पुरातात्विक महत्वका लागि सूचीकृत ५२ वटा स्थलहरूको संरक्षण, सम्बद्र्धृन र पर्यटकीय विकासका लागि ध्यानाकर्षण गराउँदै गापाको कार्यालयमा ज्ञापनपत्र बुझाइएको माबोले जनाए । यसैगरी, १२ गते सोमबार फुङ्लिङ नपा–३ सिम्लेमा युसामको प्रथम वडा अधिवेशन सम्पन्न भएको महासभाले जानकारी दिएको छ । तुम्याङहाङ लक्ष्मण मेन्याङ्वोको प्रमुख आतिथ्यमा भएको अधिवेशनले भवानीप्रसाद पालुङ्वाको अध्यक्षतामा ३१ सदस्यीय समिति चयन गरेको छ । समितिको उपाध्यक्षहरूमा चन्द्रबहादुर पालुङ्वा, माया पालुङ्वा, सचिवमा डिकेन पालुङ्वा, सहसचिवमा हेमबहादुर पालुङ्वा र कोषाध्यक्षमा तारा पालुङ्वा रहेका छन् । त्यस्तै, सदस्यहरूमा तिलबुद्ध पालुङ्वा, विष्णु पालुङ्वा, चक्रबहादुर पालुङ्वा, बिर्ख पालुङ्वा, कुमार थेबे, बोधराज पालुङ्वा, हेमबहादुर पालुङ्वा, सेरबहादुर पालुङ्वा, इन्द्रबहादुर पालुङ्वा, जीवन पालुङ्वा, प्रेम ब. पालुङ्वा, छत्र ब. पालुङ्वा, जीत ब. पालुङ्वा, हर्कजङ्ग थाङ्देन, मिलन पालुङ्वा, नर ब. पालुङ्वा, देवराज पालुङ्वा, हर्क ब. पालुङ्वा, दान ब. पालुङ्वा, प्रकाश पालुङ्वा, राममाया पालुङ्वा, लिलामाया पालुङ्वा, चैतन्य पालुङ्वा, बुद्धिमान पालुङ्वा, सन्त पालुङ्वा र नारायण पालुङ्वा रहेका छन् । अधिवेशनले ११ सदस्यीय तुम्याङहाङ एवम् सल्लाहकार समिति समेत छनोट गरेको छ ।
माघ १४ गते पाथीभरा–याङ्वरक गाउँपालिकास्तरीय युमा साम्योको प्रथम सम्मेलन थेचम्बुमा सम्पन्न भएको छ । तुम्याङ्हाङ मेन्याङ्वोको प्रमुख आतिथ्यमा सम्पन्न सम्मेलनले परम्परागत धर्मका रूपमा युमा धर्मलाई उल्लेख गर्ने घोषणा गरेको छ । सम्मेलनमा उपस्थित अभियन्ताहरूले अभियानका क्रममा उत्पन्न विभिन्न आक्षेप र प्रतिक्रियाहरूलाई चिर्ने प्रयास गरेका थिए । कार्यक्रममा देव इजम, एसबी ताप्मादेन, जगत ब. योङहाङ, छत्र माबोहाङ, भीमसेन लिङ्दम लगायतले मन्तव्य राखेका थिए ।
युमा साम्यो महासभा नेपालले याक्थुङ(लिम्बु) जातिसँग सम् बन्धित मुन्धुमी, धार्मिक, साँस्कृतिक, ऐतिहासिक एवम् पुरातात्विक महत्वका स्थलहरूको संरक्षणका लागि भन्दै स्थानीय प्रशासनहरूसमक्ष ज्ञापनपत्रहरू बुझाएको छ । महासभाको केन्द्रीय टोलीले जिल्ला समन्वय समिति ताप्लेजुङका प्रमुख घनेन्द्र मादेन, जिप्रकाका प्रमुख जिल्ला अधिकारी डोरेन्द्र निरौला र जिल्ला प्रहरी कार्यालय ताप्लेजुङमा ज्ञापनपत्र बुझाएको सचिव लिङ्दमले बताए । यस्तै, माघ १५ गते सानिता पालुङ्वाको अध्यक्षतामा पाँच सदस्यीय ताप्लेजुङ फुङलिङ नगर समिति गठन भएको युमा साम्यो अभियन्ता दिल पालुङ्वा ‘युमाहाङ’ ले जानकारी दिए । युसाम यूके उपाध्यक्ष समेत रहेका पालुङ्वाले हालै दिवङ्गत भएकी आफ्नी आमा र स्वर्गीय बुवाका नाममा मुन्धुमहिम हलसहित एक कोठा दुुई वर्षका लागि निःशुल्क रूपमा जिल्ला सभालाई उपलब्ध गराएका छन् । यसैगरी, माघ १६ गते फक्ताङलुङ गापामा पर्ने तागेरानिङवाफु फुक्कु र खेजेनिमस्थित खाम्बोत्लिङ नाहाङमा यकमा असम्बन्धित पक्षबाट गरिएको आक्रमणका विषयमा सञ्चारकर्मीहरूलाई जानकारी दिन महासभाले पत्रकार सम्मेलन समेत आयोजना गरेको थियो । सोही दिन महासभाको फक्ताङलुङ गापा शाखालाई ताप्पेथोकनिवासी सन्देश ताप्मादेनले सात आना क्षेत्रफलको जग्गा निःशुल्क रूपमा हस्तान्तरण गरेको केन्द्रीय सचिव भीमसेन लिङ्दमले जनाए ।
















