पथरी । मोरङको शनिश्चरे ९ को कुशेचौरी प्रहरी चौकी बाट २ घर अर्थात २० मिटर नजिक राजु कार्कीको घरमा चोरी भएको छ । कार्कीको डेरा बस्ने कुमारी लावती राई र १ सय ५० मिटर भित्र रहेको पिताम्बर बास्कोटाको घरको पसलमा गएराती चोरी भएको छ ।

कार्कीको घरमा बस्ने लावतीको साडे ७ तोला सुन र १५ तोला चादी चोरी भएको छ । लावती सोमबारबाट कोठामा ताल्चा लगाएर घर गएकी थिइन् । उनको ढोकाको ताल्चा लगाउने हेण्डीलको नथी काटेर चोरी भएको हो । बास्कोटाको घरको किराना पसलबाट ७ हजार नगद सहित ५ बट्टा चुरोट चोरी भएको हो । घटनाको बारेमा कुशेचौरी प्रहरी चौकीले मुचुल्का उठाएर अनुसन्धान अगाडि बढाएको प्रहरी साहायक निरीक्षक टिका प्रशाद कोईरालाले बताएका छन् ।
















