उर्लाबारी/२३ भदौ
आफै दैनिक अटो तथा ई–रिक्सा चलाएर मुस्किलले गुजारा चलाउने चालकहरूले विपत्तिमा परेका नागरिकका लागि आफ्नो गाँस काटेर एक लाख रुपैया सहयोग गरेका छन्। रसुवाको भोटेकोशीमा आएको बाढीका कारण हजारौं नागरिक प्रभावित बनेको अवस्थामा उर्लाबारी-३ मंगलबारेका अटो तथा ई-रिक्सा सफारी चालकहरुले मानवीय सेवाको क्षेत्रमा उदाहरणीय काम गरेका छन् ।

मंगलबारे अटो तथा ई-रिक्सा सफारी समूहले आफ्ना १ सय ३६ जना सदस्यबाट रकम संकलन गरी प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा १ लाख रुपैया सहयोग गरेको हो। संकलित रकम सोमबार कृषि विकास बैंक लिमिटेडको खातामा जम्मा गरिएको समूहका सचिव राजेन्द्र दाहालले जानकारी दिए।
राहत कोषमा रकम जम्मा गरेको भौचर देखाउँदै दाहालले भने, “एक दुःखीको पीडा अर्को दुःखीले नै महसुस गर्न सक्छ। हामीले आँट गर्यौं, प्रयास गर्यौं र आफूले सकेको सहयोग गरेका हौं।” यस्तै, दाहालले विपत्तीको यो कठिन समयमा हरेक नागरिकले आ-आफ्नो क्षमताअनुसार मन खोलेर सहयोग गर्नुपर्ने बताए।

समूहका अध्यक्ष विष्णुप्रसाद सिटौलाले प्राकृतिक विपत्तीका कारण दुःखमा परेका नागरिकको घाउमा मलम लगाउन तथा राज्यको उद्धार र राहत अभियानमा सहकार्य गर्न रकम सहयोग गरिएको बताए। “हामी पनि दैनिक ज्याला मजदुरी गरेर परिवार चलाउने मानिस हौं। तर विपत्तिमा परेका परिवारको पीडा देख्दा आफ्नो तर्फबाट केही गर्नुपर्छ भन्ने लाग्यो,” अध्यक्ष सिटौलाले भने।
त्यस्तैगरी, आर्थिक अवस्था कमजोर भएतापनि विपत्तीमा परेकालाई सहयोग गर्न सकिन्छ भन्ने सन्देश आफूहरूले दिन खोजेको उनको भनाइ छ।समूहले आगामी दिनमा पनि आफ्नो दैनिक पेसासँगै सामाजिक तथा मानवीय सेवाका गतिविधिलाई थप प्रभावकारी बनाउदै लैजाने प्रतिबद्धता जनाएको छ।
सो समूह आफ्ना सदस्यहरूको दुःख, पीडामा साथ, सहयोग र आवश्यक समन्वय गर्नुका साथै विभिन्न सामाजिक गतिविधिमा समेत सक्रिय रहदै आएको छ।

















