सुजन दियाली (साइनोखवर) /पथरी, ८ भदौ
साइनो खबरले पथरी शनिश्चरे नगरपालिका–१० को वडा कार्यालयमा राजस्व चुहावट तथा अनियमितता भएको विषयमा समाचार प्रकाशित गरेपछि नेपाली कांग्रेस पथरी शनिश्चरे–१० वडा कार्यसमितिले नगरपालिकाको ध्यानाकर्षण गराएको छ।

साउन ११ गते साइनो खबरले वडा कार्यालयमा राजस्व संकलन तथा व्यवस्थापनका क्रममा अनियमितता भएको विषय सार्वजनिक गरेको थियो। त्यसको करिब एक महिनापछि कांग्रेस वडा कार्यसमितिले नगरपालिकालाई पत्र बुझाउँदै घटनाको निष्पक्ष छानबिन गरी वास्तविकता सार्वजनिक गर्न माग गरेको हो।
कांग्रेस वडा कार्यसमितिले नगर प्रमुख मोहनप्रसाद तुम्बापोलाई बुझाएको ध्यानाकर्षणपत्रमा वडा कार्यालयमा भएको भनिएको राजस्व चुहावट तथा अनियमितताप्रति गम्भीर चासो व्यक्त गरिएको छ। घटनाको निष्पक्ष र पारदर्शी छानबिन गरी दोषी देखिए जोसुकै भए पनि कानुनबमोजिम कारबाही गर्न माग गरिएको छ।
त्यसैगरी, छानबिनको प्रक्रिया र त्यसबाट प्राप्त निष्कर्षसमेत सार्वजनिक गर्न कांग्रेसले नगरपालिकासँग माग गरेको छ। नागरिकबाट संकलन हुने राजस्व सार्वजनिक स्रोत भएकाले यसको संकलन र व्यवस्थापनमा अनियमितताको प्रश्न उठ्नु गम्भीर विषय भएको कांग्रेसको भनाइ छ।

कांग्रेसले छानबिनलाई औपचारिकतामा मात्र सीमित नगरी घटनाको वास्तविकता पहिचान गरी आवश्यक कानुनी प्रक्रिया अघि बढाउनुपर्नेमा जोड दिएको छ। साथै, वडा कार्यालयबाट प्रवाह हुने सेवा प्रभावकारी, पारदर्शी र जनमुखी बनाउन आवश्यक पहल गर्न पनि नगरपालिकाको ध्यानाकर्षण गराइएको छ।
यसैबीच, राजस्व चुहावट तथा अनियमिततासम्बन्धी विषयमा गठन गरिएको छानबिन समितिले सोमबार नै आफ्नो प्रतिवेदन नगर प्रमुखलाई बुझाएको बताइएको छ। तर नगरपालिकाले हालसम्म उक्त प्रतिवेदन सार्वजनिक गरेको छैन।
प्रतिवेदन सार्वजनिक हुनुअघि नै स्थानीयस्तरमा भने छानबिनको निष्पक्षतामाथि प्रश्न उठ्न थालेको छ। केही स्थानीयले करारमा कार्यरत कार्यालय सहयोगीलाई मात्र कारबाही गरेर राजस्व संकलनको जिम्मेवारी दिने प्रक्रियामा संलग्न अन्य कर्मचारीलाई उन्मुक्ति दिने प्रयास हुनसक्ने आशंका व्यक्त गरेका छन्। यद्यपि, यसबारे नगरपालिकाको आधिकारिक धारणा सार्वजनिक भएको छैन।
वडा कार्यालयमा कार्यालय सहयोगीलाई राजस्व संकलनको जिम्मेवारी दिइएको विषयसमेत विवादमा आएको छ। कांग्रेस वडा कार्यसमितिले घटनाको समग्र पक्षको निष्पक्ष छानबिन गरी वास्तविकता सार्वजनिक गर्न माग गरेको छ।
छानविन समितिले राजस्व रकम ३ लाख ५० हजार २५ रुपैयाँको अपचलन भएको प्रतिबेदन बुझाएको छ । नगरले उक्त घटनामा संलग्न ब्याक्तीलाई १० प्रतिशत ब्याज समेत जोडेर ५ दिनभित्र नगरपालिकाको खातामा जम्मा गर्न समय दिएको छ । नगरले प्रतिवेदनका आधारमा कस्तो कदम चाल्छ भन्ने विषयमा जनताले चासो लिएका छन्।
#highlight #highlight #highlight
















