साइनोखवर /पथरी, ८ साउन
मोरङको कानेपोखरी गाउँपालिका–५, जहदामा मापदण्ड विपरीत सञ्चालन भई रहेको वि एण्ड वि अस्फाल्ट प्लान्ट हटाउन माग राख्दै स्थानियले जिल्ला प्रशासन कार्यालय मोरङ र वन तथा वातावरण मन्त्रालयलाई असार ३० गते, मंगलबार ज्ञापनपत्र बुझाएका छन । स्थानीय नागरिकको स्वास्थ्यमा, जिवजन्तुमा र वातावरणमा गम्भीर असर पुर्याइरहेको भन्दै सचेत नागरिक समुहले ज्ञापनपत्र बुझाएको हो ।

अस्फाल्ट प्लान्टबाट प्रभावित कानेपोखरीका स्थानीय बासिन्दा र सचेत नागरिक समूहले पटक पटक कानेपोखरी गाँउपालिकालाई ध्यानाकर्षण गराए पनि आफ्नो क्षेत्राधिकार भित्र नपर्ने भन्दै पन्छिएको थियो । प्रभावित १३१ जना नागरिकको हस्ताक्षर सहित पालिकामा ध्यानाकर्षण गराए पनि पालिकाले बेवस्था गर्दै वि एण्ड वि अस्फाल्ट प्लान्ट कम्पनीलाई सहयोग गर्दै आएको थियो ।
तर हालसम्म कानेपोखरी गाँउपालिकाबाट उक्त विषयमा कुनै प्रभावकारी सुनुवाइ वा आवश्यक पहल नभएको साथै सचेत नागरिक समूहको भनाई छ । सचेत नागरिक समूहले कानेपोखरी गाउँपालिकामा ज्ञापनपत्र बुझाउदा गाउँपालिका प्रमुख राजमती इङ्गनाम र प्रमुख प्रशासकीय अधिकृत हिराकुमारी यादवले “उक्त अस्फाल्ट प्लान्टलाई गाउँपालिकाले स्वीकृति नदिएको र गाउँपालिकाले त्यहाँबाट हटाउन नसक्ने अभिव्यक्ति दिएका थिए । गाउँपालिका प्रमुख र प्रमुख प्रशासकीय अधिकृतको उत्त अभिव्यक्ति पछि न्यायका लागि जिल्ला प्रशासन कार्यालय विराटनगर मोरङ र वन तथा वातावरण मन्त्रालयमा १३१ जनाको हस्ताक्षर सहित ज्ञापनपत्र बुझाइएको छ।

अस्फाल्ट प्लान्टका कारण स्थानिय वृद्ध वृद्धाहरु गाँउ छोड्न बाध्य भएका छन भने श्वासप्रश्वासमा गभिर असर देखिन थालेको स्थानियले बताउदै आएका छन । सचेत नगरिक समुहले जनस्वास्थ्य, स्वच्छ वातावरण कायम राखिदिन जिल्ला प्रशासन कार्यालयमा प्रमुख युबराज कटेल सग माग गरेका छन । ज्ञापनपत्र हस्तान्तरण गर्दै कटेलले यस विषयमा सत्यतथ्य छानबिन गरी आवश्यक कानुनी प्रक्रिया अघि बढाइने प्रतिबद्धता व्यक्त गर्नुभएको छ।

















