साइनो समाचारदाता/ इनरुवा, सुनसरी, ९ माघ
कोशी प्रदेश सरकारका स्वास्थ्य मन्त्री मानबहादुर लिम्बुले आज सुनसरी जिल्ला अस्पताल, इनरुवामा अनुगमन तथा छड्के निरीक्षण गर्नुभएको छ। आजै मन्त्रि लिम्बुले ईटहरी स्थित हेयर एण्ड केयर सेन्टर अस्पताल र उर्लावारी स्थित मंगलबारे अस्पताल तथा टर्मा सेन्टरको समेत अनुगमन गर्नु भएको छ ।

मन्त्री लिम्बुले अस्पतालका विभिन्न सेवा कक्ष, आकस्मिक कक्ष, औषधि भण्डारण, सरसफाइ अवस्था तथा बिरामीलाई प्रदान गरिने सेवाको प्रत्यक्ष अवलोकन गर्नुभएको थियो। अनुगमनका क्रममा उहाँले अस्पतालको समग्र सेवा प्रवाह, व्यवस्थापन र कार्यशैलीबारे जानकारी लिनुका साथै स्वास्थ्यकर्मी तथा कर्मचारीहरू सँग छलफल समेत गर्नुभएको छ।
अनुगमनपछि मन्त्री लिम्बुले अस्पताल व्यवस्थापनलाई सरसफाइमा विशेष ध्यान दिन, सेवाग्राही मैत्री व्यवहार अपनाउन र सुशासन कायम राख्दै पारदर्शी रूपमा सेवा सञ्चालन गर्न स्पष्ट निर्देशन दिनुभयो। उहाँले स्वास्थ्य संस्था जनताको भरोसाको केन्द्र भएकाले कुनै पनि प्रकारको लापरवाही सह्य नहुने बताउनुभयो।
स्वास्थ्यमन्त्री लिम्बुले समय–समयमा यस्ता अनुगमनलाई निरन्तरता दिइने उल्लेख गर्दै अस्पताल सेवाको गुणस्तर सुधार प्रदेश सरकारको प्राथमिकतामा स्पष्ट पार्नु भयो।
















