रमेश खड्का काशी /पथरी शनिश्चरे, ३ पुस
मोरङ स्थित श्री जनता माध्यमिक विद्यालयले आफ्नो ४७औँ स्थापना दिवस पुस १ गते विविध कार्यक्रमसहित सभ्य एवम् भव्य रूपमा मनाएको छ। स्थापना दिवसको अवसरमा पथरी शनिश्चरे नगरपालिका सामुदायिक माध्यमिक विद्यालयस्तरीय हाजिरीजवाफ प्रतियोगिता आयोजना गरिनुका साथै सांगीतिक प्रस्तुति र सम्मान कार्यक्रम पनि सम्पन्न गरिएको थियो।

कार्यक्रम पथरी शनिश्चरे नगरपालिका वडा नं. ३ का वडाध्यक्ष विजय लिम्बुको प्रमुख आतिथ्यता तथा विद्यालयका प्रधानाध्यापक पदम सापकोटाको अध्यक्षतामा सम्पन्न भएको हो। औपचारिक कार्यक्रमको सञ्चालन विद्यालयका शिक्षक सुरेन्द्र दाहालले गर्नुभएको थियो भने हाजिरीजवाफ प्रतियोगिता शिक्षक पदम ढकालले सञ्चालन गर्नुभएको थियो।
कार्यक्रममा विद्यालयका पूर्व शिक्षक, पूर्व विद्यार्थी, पूर्व तथा वर्तमान व्यवस्थापन समिति पदाधिकारी तथा सदस्य, अभिभावक, शुभचिन्तक, शिक्षाप्रेमी, सहयोगदाता साथै विभिन्न विद्यालयबाट पाल्नुभएका शिक्षक प्रतिनिधि अतिथिहरूको उल्लेख्य उपस्थिति रहेको थियो । नगरस्तरीय हाजिरीजवाफ प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्दै श्री जनता माध्यमिक विद्यालय प्रथम, श्री सिंहबाहिनी माध्यमिक विद्यालय द्वितीय र श्री चन्द्रकिरातेश्वर माध्यमिक विद्यालय तृतीय स्थान हासिल गर्न सफल भएका थिए।

स्थापना दिवसको अवसरमा हाजिरीजवाफ प्रतियोगिताको मुख्य प्रयोजक हेमसागर चापागाईं, विद्यालयका लागि करिब रु. १ लाख ५० हजार बराबरको खेल सामग्री सहयोग प्रदान गर्ने अमेरिका निवासी समाजसेवी रबिन दाहाल, विद्यालयलाई जिप्सम तथा पंखा सहयोग उपलब्ध गराउनुहुने अम्बेश्री इलेक्ट्रिक एण्ड सप्लायर्सका सञ्चालक यदुप्रसाद भट्टराई, जिप्सम सहयोग प्रदान गर्नुहुने देबीप्रसाद रिजाल, मदन गौतम तथा भलिबल सहयोग गर्नुहुने मदन चाम्लिङ, भलिबल तथा नेट सहयोग गर्नुहुने गणेश वाछाना राई र तुलसी गौतम, , विद्यार्थीहरूलाई ब्याग सहयोग उपलब्ध गराउनुहुने पाथिभरा ब्याग उद्योग उर्लाबारीका सञ्चालक गणेश रेग्मी तथा विद्यालयबाट सेवा निवृत्त शिक्षक विध्याप्रसाद पौडेललाई विशेष धन्यवाद तथा कदरपत्रले सम्मान व्यक्त गरिएको थियो।
कार्यक्रमले विद्यार्थीहरूमा शैक्षिक प्रतिस्पर्धा, बौद्धिक क्षमता अभिवृद्धि र विद्यालयप्रति अपनत्व बढाउन महत्वपूर्ण योगदान पुर्याएको आयोजकले जनाएको छ। स्थापना दिवसको अवसरमा विद्यालयको विगतको योगदानको स्मरण गर्दै आगामी दिनमा अझ गुणस्तरीय शिक्षा र समग्र विकासमा प्रतिबद्धता व्यक्त गरिएको थियो।
















