साइनो समाचारदाता/पथरी, १२ माघ
मोरङ ग्रामथान गाँउपालिका ५ कि सिता चौधरीलाई खाना पकाउने दाउरा जोहो गर्न हम्मे हम्मे छ । माटोले लिपेको घरका भित्ता, परालको छानो, सानो झुपडी त्यहि झुपडीबाट निस्किएको कालो धुवा संगै उडेको छ सिताको दिनचर्या । बिहानीको झिसमिसे संगै गाई बस्तुको गोवर उठाउनु पर्ने बाध्यता छ दक्षिणी मोरङका महिलाहरुको ।

सिता चौधरीको ५ जनाको परिवार छ । उक्त परिवारका लागि खाना पकाउनै पर्ने बाध्यता छ सितालाई । श्रीमानको सामान्य कमाइले ग्यास र दाउरा किन्न पुग्दैन । ‘ग्यास चलाउन सकिदैन, जंगल पनि टाढा छ, वन समितिले संरक्षण गर्न थाले पछि दाउरा पनि पाइदैन, गुइठाको विकल्प नगरे आफैलाई ग्राहो हुन्छ’ चौधरीले भनिन् ‘ग्यास चलाउन नसक्नेले दाउराको विकल्प गुइठा तयार गर्नु परेको छ’ ।
ग्रामथान ५ कि सिता चौधरीको जस्तै ब्यथा छ रंगेली आमगाछीकी ललिता नुनियाको । नुनिया हिउँद सुरु भए सँगै गोठको गोवर जम्मा गरेर गुइठा बनाउन थाल्छिन । काचो गोबरलाई सनपाटको सुन्टीमा टासेर सुकाए पछि गुइँठा बन्ने गरेको छ । दक्षिणी मोरङ्गमा यसैलाई दाउराको विकल्पका रुपमा प्रयोग गर्ने गरिन्छ । तराईको समथल उब्जाउ योग्य खेतबालीमा हाल्नु पर्ने गोवर गुइठा बनाए पछि दक्षिणी मोरङका किसान खेतमा रासायनिक मल हाल्न बाध्य छन । गोवरलाई मलका लागी खेतमा हाले दाउराको समस्या हुने नुनियाको भनाई छ ।
दक्षिणी मोरङको रंगेली, सुनबर्षी, ग्रामथान, रतुवामाई र कटहरी क्षेत्रका निम्न बर्गका परिवारका महिलाहरुले खाना पकाउने दाउराको रुपमा गुइठा नै प्रयोग गर्ने गरेका छन । गुइठा बाल्दा निस्कीएको धुवाले आँखा र स्वास्थ्यमा समस्या देखिएको छ ।
ग्रामथान ५ कि सिता चौधरी र आमगाछी कि नुनिया जस्तै त्यस क्षेत्रका गृहिणीको दिनचर्या हो गोठवाट गोवर सङ्कलन गरेर गुइँठाको दाउरा बनाउनु । दक्षिणी मोरङका अधिकांश बासिन्दा गोवर सङ्कलन गरि सुन्ठी, बाँस, परालका टुक्रा मिसाएर दाउरा बनाउने गर्दछन् । बनाएका दाउरा सुकाएर खाना बनाउन प्रयोग गरिने स्थानीयवासी बताउँछन् ।

मोरङको उत्तरी क्षेत्रमा घना जङ्गल भए पनि दक्षिणी मोरङमा भने दाउराकै लागी गोवर प्रयोग गर्नु पर्ने बाध्यता वनेको छ । दाउराकै अभावमा गोवरलाई मलका रूपमा नभई दाउरा बनाएर खाना पकाउनु पर्ने बाध्यता रहेको स्थानीय परमेश्वर नुनियाले बताए । खेतमा प्रयोग गर्नु पर्ने गोवर मल दाउराका रूपमा प्रयोग हुँदा खेतमा मलको अभाव भएको छ भने स्वास्थ्य सम्बन्धी समस्या समेत मानिसमा देखिन थालेको छ ।
गोबर मल खाना बनाउन प्रयोग गर्नु पर्ने भएपछि यस क्षेत्रका किसानले रशायनिक मलको प्रयोगमा जोड दिँदै आएका छन् । कृषकले बारिमा लगाउने गोवरलाई गुईठा बनाउन प्रयोग गर्नाले ५० प्रतिशत मलको अभाव र रासायिनक मलको प्रयोगले थप ५० प्रतिशत माटो विग्रिएको कृषी ज्ञान केन्द्र मोरङका पुर्व प्रमुख राम देव सिंहले बताए । उत्त क्षेत्रमा दाउराको सहजता मात्र हुने हो र रासायनिक मलको ठाउमा आफ्नै बारीमा उत्पादन हुने प्राङगारीक मल प्रयोग गरे उत्पादनमा वृद्धि हुने सिंहको भनाई छ ।
जसले खेतको उत्पादनमा ह्रास आएको कृषि विज्ञहरू बताउँछन् । स्वास्थ्यकर्मीका अनुसार दाउराका रूपमा गोवर प्रयोग गर्नु स्वास्थ्यका लागी पनि हानिकारक छ । जसले भान्सामा काम गर्नेलाई श्वास प्रश्वास, दम र अन्य फोक्सो सम्बन्धी रोग लाग्न मोरङ्ग हस्पिटलका डाक्टर उमेश गुरागाई बताउँछन् ।
प्राङगारिक मलका रूपमा प्रयोग हुने गोवरलाई गुइँठा बनाएर दाउराका रूपमा प्रयोग गर्नु भन्दा वैकल्पिक साधन प्रयोग गरेर खाना बनाउन विज्ञहरूको सुझाव छ । मोरङका दक्षिणी भेगका स्थानिय वासीन्दालाई वन पैदावारको हकदार बनाउन सामुदायिक वनले प्रयास थाले पनि सरकारी नैतिकै कारण समस्या आएको सामुदायिक वन उपभोक्ता समिति प्रदेश नम्बर १ का सचिव अग्नि पौडेल बताउँछन् ।
सामुदायिक वनको क्षेत्र बाहिर रहेका जनतालाई समेट्न साझेदारी वन गठन भयो । तर साझेदारी वनमा सरकारी नीति कै कारण दाउराका रूपमा भएका वन पैदावार समेत बिक्री वितरण गर्न सकिएको छैन । गरिवका पहुँचमा वन पैदावार नहुँदा समेत गोवरकै दाउरा बाल्न बाध्य छन् स्थानीयवासी ।
सरकारी नीति अनुसार वन पैदावार डाक बढाबढमा विक्री हुने गर्दछ । यसरी विक्री भएको वन पैदावार पहुँचवालाले नै लिने हुँदा समेत विपन्नमा दाउराको समस्या भएको वन सरोकारवाला बताउँछन् ।
















