विनायक पाठक/पथरी , ८ कार्तिक
मोरङको पथरी शनिश्चरे वडा नं १ मा आजबाट सुरु भएको प्रथम वडाध्यक्ष भेट्रान्स पथरी शनिश्चरे गोल्डकपको उद्घाटन खेलमा उर्लाबारी भेट्रान्स विजयी भएको छ । मोरङको उर्लाबारी भेट्रान्सले झापाको दुधे भेट्रान्सलाई ४-१ गोल अन्तरले हराउँदै सेमिफाईनलको यात्रा तय गरेको छ ।
उर्लावारी भेट्रान्सका लागि खेलको ४ मिनेटमै खेम पोखरेल गोलको खाता खोलेका थिए । त्यसको ३ मिनेटमै दुधे भेट्रान्सका भीष्म खरेलले १ गोल फर्काए पनि हार बेहोर्नु परेको छ । उर्लावारी भेट्रान्सका गंगा कार्कीले खेलको १६ औं मिनेटमा गोल गर्दै अग्रता दोब्बर पारे । ३०औं मिनेटमा खेम पोखरेलले ब्यात्तीगत दोस्रो गोल गर्दै आफ्नो टिमलाई ३-१ को अग्रता बनाए ।

पहिलो हाफ ३-१ को अग्रता बनाएको उर्लाबारी भेट्रान्सका लागि दोस्रो हाफमा गुल्सन तामाङले थप एक गोल गर्दै ४-१ गोल अन्तरले खेल आफ्नो बनायो । खेलको’ भेट्रान्स अफ दि म्याच’ उर्लाबारी भेट्रान्सका गंगा कार्की घोषित हुदै नगद १५ सय प्राप्त गरे । उनलाई कार्यक्रमका प्रमुख अतिथि अखिल नेपाल फुटबल सङ्घ केन्द्रीय सदस्य दिपेन्द्र धिमालले पुरस्कृत गर्नुभयो । भोलि खेल पथरी भेट्रान्स र मिल्स भेट्रान्स बिच हुने आयोजक कमिटिका सदस्य दिपक पुलामीले बताउनु भयो ।
प्रतियोगिता पथरी शनिश्चरे भेट्रान्स एफ सि पथरी शनिश्चरेको आयोजनामा र पथरी शनिश्चरे वडा नं १ को मुख्य सहयोगमा संचालन भएको छ । पथरी शनिश्चरे जाँते मोड स्थित दिपेन्द्र स्मृती खेल मैदानमा कार्तिक ८ गते देखि सुरु भएको प्रतियोगिताको फाईनल खेल कार्तिक १४ गते हुनेछ । प्रतियोगिताको विजेताले नगद एक लाख एक हजार र उपविजेताले पच्पन्न हजार प्राप्त गर्ने छ ।
पुराना फुटवल खेलाडीको स्वास्थलाई मध्यनजर गर्दै र चार्ड पर्वमा घर फर्किएका खेलाडी बिच मित्रता कायम राख्ने उदेश्यले प्रतियोगिता आयोजना गरेको पथरीका पुर्व खेलाडी दिपक पुलामीले बताउनु भयो । प्रतियोगितामा उर्लावारी भेट्रान्स क्लव मोरङ, दुधे भेट्रान्स क्लव झापा, साहारा भेट्रान्स क्लव मोरङ, विराट भेट्रान्स क्लव मोरङ, आयोजक पथरी शनिश्चरे भेट्रान्स क्लव मोरङ, मिल्स भेट्रान्स क्लव मोरङ, लखनपुर भेट्रान्स क्लव झपा र सतिसाले भेट्रान्स क्लव सहित ८ टिमको सहभागिता रहने छ ।
















