साइनो समाचारदाता/ पथरी, ५ असोज
पथरी शनिश्चरे गोल्डकपको उद्घाटन खेलमा आयोजक पथरी ११ ले विजयी सुरुवात गरेको छ । मोरङको पथरी शनिश्चरे आजबाट सुरु भएको प्रतियोगितामा पाँचथर फुटबल क्लब पाँचथरलाई २-१ गोलले पराजित गर्दै आयोजक पथरी ११ प्रतियोगिताको दोस्रो चरण प्रवेश गरेको हो । आयोजक पथरी ११ का लागी दुबै गोल सनम धिमालले गरेका हुन ।

धिमालले पहिलो हाफ गोल रहित बराबरी भए पनि दोस्रो हाफ खेलको निर्णायक बन्यो । खेलमा पथरी ११ ले जित निकाल्न दोस्रो हाफ कुर्नु परेको थियो । खेलमा सनम धिमालले ४१ र ५६ मिनेटमा गरेको गोलनै खेलको निर्णायक गोल बन्यो । धिमालले ४१ मिनेटमा युकेश तामाङको क्रस पासमा गोल गर्दै पथरी ११ लाई अग्रता दिलाएका थिए । त्यसको एक मिनेटमै पॉचथरका शुशिल लिम्बुले गोल गर्दै खेललाई बराबरीमा पुर्याए । निकै प्रतिस्पर्धात्मक खेलको ५६ मिनेटमा सञ्जय लिम्बूको पासलाई धिमालले जाली चुमाउदै व्यक्तिगत दोस्रो गोल गरी आफ्नो टीमलाई विजयी गराए ।
खेलको म्यान अफ द म्याच घोषित दुई गोलकर्ता सनम धिमाल घोषित हुदै नगद पॉच हजार प्राप्त गरे । उनलाई उद्धघाटन कार्यक्रमका प्रमुख अतिथी पथरी शनिश्चरे नगरप्रमुख मोहन प्रसाद तुम्बापोले पुरस्कृत गर्नु भएको थियो । प्रतियोगिता अन्तरगत भोलीको दोस्रो खेल धरान सिटी सुनसरी र झापा ११ बिच हुने छ ।

प्रतियोगितामा ए डिभिजन क्लब संकटा सहित ब्रिगेड व्वाइज क्लब, भारतको युकेएफसी, सिराहाको सहलेस युथ क्लब, धरान सिटी फुटबल क्लब, झापा ११ फुटबल क्लबसहित ८ टोलीको सहभागिता रहने छ । पथरी ११ ले आयोजना गरेको प्रतियोगिताको मुख्य प्रायोजक इन्ट्रा फाउण्डेशन अमेरीकाले रहेको छ भने मुख्य सहयोग पथरी शनिश्चरे नगरपालीकाले गरेको छ ।

प्रतियोगिता मोरङको पथरी शनिश्चरे १ स्थित पथरी रंगशालामा असोज ५ देखि १२ गते सम्म संचालन हुनेछ । गोल्डकपको विजेताले तीन लाख र उपविजेताले दुई लाख रुपैयाँ प्राप्त गर्ने छ । प्रतियोगिताको सर्वोकृष्ट खेलाडीले नगद रू पच्चिस हजार र अन्य विधागत उत्कृष्ट खेलाडीहरूले जनही दश हजार प्राप्त गर्नेछन भने प्रत्येक खेलको म्यान अफ द म्याचले पॉच हजार प्राप्त गर्ने छन।





















