सुन्दर अक्षर लेखनका साधक भुवनेश्वर पोखरेल - Sainokhabar
pin uppinuppin up casinopinup azpin uppinup azpin up azpin-up online casinopin uppin up azerbaijanpin up azerbaycanpin-up oyunupinup loginpinup casinopin up casino indiapin up indiapinup bet indiapin up bet indiapin up indiapin up casinopin up indiapin up kzpin up betpin uppin up betpin up bet зеркалоpin upmostbet azemosbetmosbet casinomostbet azmosbetmostbetmostbet casinomostbet aviatormosbet aviatorмостбет кзmostbet kzmostbet1win kz1win casino1win1 win1win uz
  • आइतबार, असार ३१, २०८१

सुन्दर अक्षर लेखनका साधक भुवनेश्वर पोखरेल

केशव निरौला

मोरङ/सात दशक बितिसकेको अनुभवी एवम् पाको उमेर । अहिले पनि नगरभरिका विद्यालयमा सुन्दर अक्षर बनाउन उत्तिकै सक्रिय अगुवा व्यक्तित्व । जीवनभर यही कर्ममा लागिरहन्छु भन्ने दृढ अठोट बोक्नुभएका उदाहरणीय पात्र हुनुहुन्छ– पूर्वोत्तर मोरङको पथरीशनिश्चरे–३, सिर्जना टोल निवासी भुवनेश्वर पोखरेल ।

७४ वर्षको उमेरमा पनि सुन्दर अक्षर लेखनमा निरन्तर तल्लीन पूर्वशिक्षक भुवनेश्वरको संस्थागत प्रयासले नगरमै नितान्त पृथक् कलालाई बढावा दिइरहेको छ । उहाँको सुन्दर अक्षर लेखन अभियानबाट यस नगरपालिकाका प्रायः सबैजसो विद्यालयका विद्यार्थी मात्र नभई शिक्षकसमेत लाभान्वित भइरहेका छन् । उहाँकै अगुवाइमा प्रत्येक वर्ष विभिन्न सामुदायिक तथा संस्थागत विद्यालयका विद्यार्थीबिच प्रतियोगितात्मक रूपमा सुन्दर हस्तलेखन कार्यक्रम सञ्चालन हुँदै आएको छ । यसै सन्दर्भमा पूर्वशिक्षक पोखरेल भन्नुहुन्छ– ‘मैले भुवनेश्वर अम्विकादेवी अक्षयकोष स्थापना गरेर सोही कोषबाट प्राप्त वार्षिक ब्याज रकममार्फत नगरभरका शैक्षिक संस्थामा सुन्दर अक्षरलेखनको अभियान अगाडि बढाइरहेको छु । कार्यक्रममा शिक्षकलाई पनि समेट्ने काम भएको छ ।’ प्रतियोगितामा उत्कृष्ट हस्तलेखन गर्ने विद्यालयका प्रत्यक्ष सरोकारित शिक्षकलाई समेत प्रत्येक वर्ष प्रोत्साहन गर्ने गरेको उहाँको भनाइ छ ।

सुन्दर हस्तलेखन "भुवनेश्वर अम्विकादेवी अक्षयकोष" का सस्थापक भुवनेश्वर पोखरेल
                            सुन्दर हस्तलेखन “भुवनेश्वर अम्विकादेवी अक्षयकोष” का सस्थापक भुवनेश्वर पोखरेल

नगरमा ‘हस्तलेखन अभियानका अभियान्ता’ समेत भनेर चिनिएका पोखरेलले स्थानीय पथरीशनिश्चरे–१ मा रहेको सानाकिसान कृषि सहकारी संस्थामा २०६५ सालमा १ लाख ७५ हजार रुपैयाँ बराबरको अक्षयकोष खडा गरी सोही संस्थामार्फत यस कार्यलाई निरन्तरता दिइरहेको पाइन्छ । कोषबाट बर्सेनि प्राप्त हुने ब्याज रकममध्ये ११ प्रतिशत यही अभियानमा खर्च गरिन्छ भने अरू न्यूनतम १ प्रतिशत रकम सोही कोषमा थपिने प्रावधान छ । यस क्रममा एकातिर अक्षयकोषमा हाल दुई लाखभन्दा बढी रकम निक्षेप भइसकेको छ भने अर्कातिर समुचित आर्थिक स्रोतको व्यवस्थापन भई बर्सेनि सुन्दर हस्तलेखन कार्यक्रमले पनि निरन्तरता पाइरहेको छ ।
२०५५ सालमा शिक्षण पेसाबाट अनिवार्य अवकाश पाइसकेपछि भुवनेश्वरले नगरभित्रका विभिन्न शैक्षिक संस्थामा आफैँ उपस्थित भएर पनि राम्रा अक्षर लेख्न सिकाउनुभयो भने कतिपय विद्यालयमा कार्यरत शिक्षकलाई नै प्रोत्साहन गर्नुभयो । उहाँको शिक्षण कालमा त प्रत्येक दिन एउटा घन्टी राम्रा अक्षर लेखनका लागि छुट्याइने गरिन्थ्यो । यही विगत स्मरण गर्दै पोखरेल भन्नुहुन्छ– ‘मैले जहाँजहाँ पढाएँ सबैजसो विद्यालयमा सुन्दर हस्तलेखनका लागि घन्टी नै छुट्याइन्थ्यो ।’
सुन्दर अक्षर लेखनमा जुटेका अविश्रान्त साधक भुवनेश्वरले चलाएका विभिन्न कार्यक्रममार्फत व्यक्तित्व निर्माणमा प्रतिभा र कला पनि उत्तिकै अपरिहार्य हुन्छ भन्ने व्यावहारिक भाष्य विकास गर्न सहज बन्दै छ । यसले शिक्षण संस्थामा सनातनी रूपबाट हुने पढाइको सट्टा जीवनलाई कलात्मक बनाउने प्रकृतिका समग्र कार्यलाई प्रोत्साहन गर्दै छ । पछिल्लो समय विभिन्न शिक्षालयमा दिनानुदिन सुन्दर हस्तलेखनको अभ्यास बढी नगरभरमै राम्रा अक्षर बनाउने कार्यले तीब्रता पाइरहेको छ । पथरीशनिश्चरे नगरपालिकाका शिक्षा, युवा तथा खेलकुद शाखा अधिकृत नवीन खुलाल बुढाथोकीको बुझाइमा पनि नगरका विभिन्न विद्यालयमार्फत सुन्दर अक्षर बनाउन भुवनेश्वर सरले उदाहरणीय कार्य गरिरहनु भएको छ । अधिकृत बुढाथोकीले अगाडि थप्नुभयो– ‘भुवनेश्वर सरको प्रयासमा नगरको भिन्न पहिचान बन्ने आधार खडा हुँदै छ ।’ एकल प्रयासमा रोपिएको सुन्दर हस्तलेखनको बिउ मौलाएर अहिले संस्थागत स्वरूपमा पुगेको छ । संस्थागत रूपबाट उक्त कार्यलाई अघि बढाउनका लागि भुवनेश्वरकै अध्यक्षतामा ५ सदस्यीय समितिसमेत गठन गरिएको छ । समितिको संयोजकमा साहित्यकार रोहित पराई (रोहिणीप्रसाद घिमिरे), व्यवस्थापकमा पञ्चायत माविकी पूर्वअध्यक्ष आइतकुमारी तुम्बापो र सदस्यद्वयमा न्यु पेगोडा अङ्ग्रेजी आवासीय माविका निर्देशक टीकाप्रसाद दङ्गालसहित सिंहवाहिनी माविका शिक्षक सुमन राई रहनुभएको छ । पाँच सदस्यीय समितिले सामूहिकरूपमा कार्ययोजना बनाई हस्तलेखन कार्यक्रमलाई प्रतियोगितात्मक रूपमा सञ्चालन गर्ने मात्र नभई सोसम्बद्ध आवश्यक अन्य कार्यक्रम पनि सञ्चालन गर्दै आएको छ ।
करिब ३ दशक शिक्षण पेसामा रहेर अनिवार्य अवकाश प्राप्त गर्नुभएका भुवनेश्वर पोखरेललाई सर्वप्रथम सुन्दर हस्तलेखनमा लाग्ने प्रेरणा गुरु दुर्गाप्रसाद रिजालबाट मिलेको बताइन्छ । ‘आदरणीय गुरु दुर्गाप्रसादले लेख्नुभएका छापा जत्तिकै सुन्दर अक्षर देखेर म प्रभावित बनेँ’ भन्दै पोखरेलले अगाडि थप्नुभयो– ‘गुरु बितेर गए पनि उहाँले दिनुभएको सत्प्रेरणा म जीवनभर कदापि भुल्दिनँ ।’
धनकुटा बहुमुखी क्याम्पसबाट नेपाली मूलविषयसहित शिक्षा शास्त्र सङ्कायबाट स्नातक उत्तीर्ण गर्नुभएका पूर्वशिक्षक पोखरेलले २०२९ सालमा साविक देवकोटा प्रावि, तोरीबारी (मधुमल्ला) बाट स्थायी शिक्षकको रूपमा अध्यापन सुरु गर्नुभएको थियो । डिग्री क्याम्पस, विराटनगरमा स्नातकोत्तर अध्ययन गर्दै गर्दा जागिर सरुवा भई औपचारिक शिक्षाबाट विश्राम लिनुभएका भुवनेश्वरले सुन्दर हस्तलेखनको यात्रालाई भने कहिल्यै पूर्णविराम नलगाउने बताउनुभएको छ । अक्षय कोषमार्फत आउने पुस्ताले पनि यसलाई निरन्तरता दिइरहने आधार खडा गरेको बताउने पोखरेलको यो कार्य सबैका लागि अनुकरणयोग्य मानिन्छ ।

सम्बन्धित खवर