साइनो समाचारदाता/ कानेपोखरी
राष्ट्रिय नागरिक संघर्ष समिति मोरङ क्षेत्र नं.२ ले ३०२ औं पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवशका अवसरमा शुक्रबार २६ जना ज्येष्ठ नागरिकलाई सम्मान गरेको छ । कानेपोखरी–३ को सलबले चौकमा आयोजित कार्यक्रममा लालबहादुर माझी, अग्निधर लुइटेल,अम्मर गिरी,पूर्णबहादुर कार्की,तिलकप्रसाद लुइटेल,वंशबहादुर भट्टराई र नन्दु साहलाई सम्मान गरिएको हो ।
यस्तै गोमा कोइराला, चन्द्रकला भट्टराई,लीलाकुमारी सापकोटा,सुभद्रा दाहाल ,असरावती थारु,विष्णामाया भट्टराई र लक्ष्मीमाया दाहाल लगायतलाई सम्मान गरिएको हो । सम्मानित हुनेमा ८० वर्ष देखि ९६ वर्षसम्मका वृद्ध–वृद्धा हुनुहुन्छ ।
विभिन्न जात जातिको झाँकी सहित सुरु भएको कार्यक्रममा ९ वटा कीर्तन मण्डलीले भजन प्रस्तुत गरेका थिए । मोहनप्रसाद खतिवडाको सभापतित्वमा भएको कार्यक्रममा आयोजक समितिका संयोजक सुवासचन्द्र निरौलाले नागरिक संघर्ष समितिको एउटा माग राज्यले पुरा गरेको बताउनु भयो । उहाँले पृथ्वी जयन्तीका अवसरमा राज्यले राष्ट्रिय विदा दिनु पर्ने माग राख्दै आएकोमा उक्त माग पुरा भएको बताउनु भयो ।