सामाजिक सञ्जालमा भ्रष्ट्राचारविरुद्ध स्टाटस् लेखेका युवक तीन दिनदेखि बेपत्ता - Sainokhabar
  • बिहिबार, मङि्सर २१, २०८०

सामाजिक सञ्जालमा भ्रष्ट्राचारविरुद्ध स्टाटस् लेखेका युवक तीन दिनदेखि बेपत्ता

भ्रष्ट्राचारका विषयमा सामाजिक सञ्जालमा लेखेका एक युवक तीन दिनदेखि बेपत्ता भएका छन् ।

झापाको बुद्धशान्ति गाउँपालिका– ४ मा ३३ वर्षीय शेरबहादुर सुहाङ्ग बैशाख ३१ गते रातीदेखि बेपत्ता भएका हुन् ।

उनका बुबा खम्बबहादुरले छोराको खोजी गरिदिन भन्दै इलाका प्रहरी कार्यालय धुलाबारीमा निवेदन दिएका छन् । तीन दिनसम्म प्रहरीले उनलाई भेटेको छैन ।

बुद्धशान्ति गाउँपालिकाको बुधबारेमा नेपाल विद्यार्थी संघ र तरुण दलले भ्रष्ट्राचारको विरोधमा र्याली निकालेको थियो । सोही र्यालीको समर्थनमा उनले फेसबुकमा स्टाटस् लेखेका थिए । स्टाटस लेखेको विरोधमा बैशाख ३१ गते राति ८–९ जनाको समूहल हत्या गर्ने धम्कीसहित उनको घर पुगेको थियो ।

स्थानीय दिलकुमार लावाङ९करण०, नवराज लिम्बू, शुक्रराज लिम्बु र सुमन लिम्बूसहित ८–९ जनाको टोलीले राति साढे ११ बजे उनको घर घेरेर ढुंगामुढा गरेको थियो । उनका बुबालाई ‘छोरा निकाल मार्छु’ भन्दै ८–९ जनाको समूहले धम्की पनि दिएको थियो ।

आफ्नो घर घेराउ हुँदा शेरबहादुर भने साथी कुलबहादुर गौतमसँग बाहिर थिए । खोजी गर्दै घरमा पुगेको टोलीले उनलाई नभेटेपछि घर तोडफोड गरी फर्किएको खम्बबहादुरले प्रहरीलाई दिएको निवेदनमा उल्लेख गरेका छन् । सोही रातदेखि बेपत्ता भएका सुहाङ्ग अझै नभेटिएका हुन् ।
उनले प्रयोग गर्ने मोटरसाइकल घरदेखि केही पर खानीगौडा झोलुङ्गे पुलमा चावीसहित वेवारिसे अवस्थामा भेटिएको छ । प्रहरीले बाइक भेटिएको स्थान नजिकै उनले लगाएको टि–सर्ट र घडी पनि भेटेको छ ।

प्रहरीले आक्रमणका लागि उनको घरमा पुगेको समूह र राति उनीसँग गएका गौतमसँग सोधपुछ गरिरहेको छ ।मोटरसाइकल, घडी र लगाएको कपडा भेटेका कारण आक्रमण गरी उनलाई बेपत्ता पारेको हुनसक्ने आशंकामा खोजी तिब्र बनाइएको प्रहरीले बताएकोे छ । जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी उपरीक्षक दुर्गाराज रेग्मीले बेपत्ता भएका व्यक्तीको खोजी भइरहेको बताए । प्रहरीको टोली शेरबहादुरको खोजीमा जुटेको बताउँदै उनले भने, ‘शंकास्पद व्यक्तीलाई ल्याएर अनुसन्धान गरिरहेका छौं ।’

सम्बन्धित खवर