कानेपोखरी गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृत विष्णुकुमार थेगुवा पालिकामा हाजिर भएका छन् ।
सरुवाको पत्र लिएर गएका थेगुवालाई गत चैत ३० गते गाउँपालिका अध्यक्षराजमति इङ्नामले हाजिर नगरी फर्काएकी थिइन् । आइतबार भने उनले नै स्वागत गरिन् ।संघिय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको सरुवालाई नमान्ने भन्दै गाउँपालिका अध्यक्ष राजमती इङ्नामले सरुवा भएर आएका अधिकृृतलाई हाजिर नगराएपछि पालिका गत चैत १३ गतेदखि प्रमुख प्रशासकिय अधिकृत बिहिन बनेको थियो ।
गत चैत १३ गते संघिय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले कानेपोखरीका प्रमुख प्रशासकिय अधिकृत सन्तोष घिमिरेलाई कोशी प्रदेश मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा सरुवा गरेर उनको स्थानमा मुख्यमन्त्री कार्यालय मातहत रहेका शाखा अधिकृत विष्णुकुमार थेगुवालाई पठाएको थियो ।
थेगुवा चैत ३० गते हाजिर हुन् कानेपोखरी गाउँपालिका पुग्दा अध्यक्ष इङनामले हाजिर गर्न नदिई फर्काइन् । बैशाख ३ गते अध्यक्ष इङ्नामले सामान्य प्रशासन मन्त्रालयलाई पूर्व जानकारी नदिई सरुवा गरेका कारण हाजिर गर्न नसक्ने भन्दै पत्र पठाएकी थिइन् । प्रमुख प्रशासकिय अधिकृत घिमिरेको सरुवा रोक्ने पालिका नेतृत्वको प्रयास सफल नभएपछि उनी बैशाख १३ गते रमाना पत्र बुझेर खटाएको स्थानमा गए । उनको स्थानमा गएका थेगुवाले हाजिर हुन पाएका थिएनन् ।
कर्मचारीलाई हाजिर नगराएको भन्दै आलोचना भएपछि आइतबार पालिका अध्यक्ष इङनामले थुगुवालाई स्वागत गरिन् । कानेपोखरी गाउँपालिका उपाध्यक्ष भोला अधिकारीले आइतबार हाजिर भएर प्रमुख प्रशासकिय अधिकृत थेगुवाले काम सुरु गरेको बताए ।