मोरङको जहदा र विराटनगरबाट ५ सय ४२ किलो गाँजा बरामद - Sainokhabar
  • बिहिबार, मङि्सर २१, २०८०

मोरङको जहदा र विराटनगरबाट ५ सय ४२ किलो गाँजा बरामद

विराटनगर र ठूलो परिणामको लागूऔषध गाँजा नेपाल र सशस्त्र प्रहरीले मोरङबाट बरामद गरेका छन् । भिन्दाभिन्दै स्थानबाट बुधबार एकैदिन ५ सय ४२ किलोग्राम गाँजा बरामद भएको हो ।

नेपाल प्रहरीले जहदा गाउँपालिकाबाट ४ सय २२ र सशस्त्र प्रहरीले विराटनगर महानगरपालिकाबाट १ सय २० किलोग्राम गाँजा बरामद गरेका छन् । जहदा–२ बेरियारी टोलस्थित मोहमद मजेबुल मियाँको मकैबारीबाट ४ सय २२ किलो गाँजा बरामद गरिएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी रन्जनकुमार दाहालले जानकारी दिए ।

उनका अनुसार प्रहरी निरीक्षक प्रकाश रेग्मीको नेतृत्वमा खटिएको इलाका प्रहरी कार्यालय रानी र लागूऔषध नियन्त्रण ब्युरो विराटनगरको संयुक्त टोलीले गाँजा बरामद गरेको हो । मकैबारीमा लुकाएर राखेको अवस्थामा १४ वटा बोरामा प्याक गरेको गाँजा दिउँसो १२ः१५ बजेतिर फेला परेको दाहालको भनाइ छ । पूर्वी पहाडी जिल्लाबाट ल्याएर भारततिर कटाउनलाई गाँजा मकैबारीमा लुकाएर राखेको विशेष सूचना कोसी प्रदेश प्रहरी प्रमुख डीआईजी राजेशनाथ बास्तोलालाई पुगेको थियो । त्यसलगत्तै खानतलासी गरेर गाँजा नियन्त्रणमा लिन बास्तोलाले टोली खटाए ।

परिचालित टोलीले खोजतलास गर्दा मकैबारीभित्र लुकाएको अवस्थामा गाँजा भेटिएको हो । गाँजको अवैध धन्दामा संलग्न भने फेला नपरेको प्रहरीले जनाएको छ । मोरङ प्रहरी प्रमुख एसपी दीपक पोखरेलले गाँजा कसको हो र कसले ल्याएर मकैबारीमा लुकाएको भन्ने बारेमा अनुसन्धान सुरु गरिएको जानकारी दिए । ‘सुरक्षाकर्मीलाई छलेर गाँजा भारततिर कटाउन खोजिएको हुनसक्ने आशंका गरिएको छ,’ उनले भने, ‘यसको धन्दामा संलग्नको व्यापक खोजी भइरहेको छ ।’ बरामद भएको गाँजा अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालयमा ल्याएर राखिएको एसपी पोखरेलले बताए ।

त्यस्तै, सशस्त्र प्रहरीले विराटनगर–१ बाट १ सय २० किलोग्राम गाँजा बरामद गरेको छ । बीआर ११ भी ७६४५ नम्बरको स्कोरपिओमा राखेर भारततिर लैजाँदै गरेको अवस्थामा बिहानका राति २ः२० बजेतिर गाँजा बरामद गरिएको हो । भारतीय स्कोरपिओमा राखेर गाँजा भारत लैजाने काम भइरहेको सूचना कोसी प्रदेशका सशस्त्र प्रहरी प्रमुख डीआईजी अन्जनीकुमार पोखरेललाई पुगेको थियो ।

त्यसलगत्तै डीआईजी पोखरेलले स्कोरपिओलाई नियन्त्रणमा लिन टोली खटाए । सशस्त्र प्रहरी निरीक्षक भूपेन्द्रकाजी निरौला नेतृत्वको टोलीले इटहरीबाट विराटनगरतर्फ आइरहेको स्कोरपिओलाई मोरङको बूढीगंगा–१ मा रोक्न खोजेको थियो । तर, सशस्त्रको ‘चेक प्वाइन्ट’ छलेर भाग्यो । पिछा गर्दै आएको टोलीले स्कोरपिओलाई विराटनगर–१ स्थित नोबेल डेरी चोकबाट नियन्त्रणमा लिएर खानतलासी गर्दा गाँजा फेला परेको हो ।

सशस्त्रलाई देख्नासाथ गाडी छाडेर चालक फरार बनेका थिए । बरामद भएको स्कोरपिओसहित गाँजा आवश्यक कारबाहीका लागि सशस्त्रले नेपाल प्रहरीको जिम्मा लगाएको छ । ‘गाँजाका सम्बन्धमा आवश्यक अनुसन्धान थालिएको छ,’ मोरङ प्रहरी प्रमुख एसपी पोखरेलले भने, ‘सशस्त्रसँग समन्वय गर्दै फरार रहेका स्कोरपिओ चालकको खोजी तीव्र पारिएको छ ।’

सम्बन्धित खवर