ताप्लेजुङमा बेमौसमी हिमपात, जनजीवन अस्तब्यस्त - Sainokhabar
  • बिहिबार, मङि्सर २१, २०८०

ताप्लेजुङमा बेमौसमी हिमपात, जनजीवन अस्तब्यस्त

ताप्लेजुङ । ताप्लेजुङमा विगतका वर्षहरूमा फागुन अन्तिमदेखि नै हिउँ पर्ने क्रम क्रमशः घट्दै जान्थ्यो ।
पुसदेखि फागुनसम्म हिमपातले हिमाल र उच्च पहाडी क्षेत्रका टाकुरा सेताम्मे हुने गर्थे । त्यसपछि क्रमशः हिउँ पर्ने क्रम न्यून हुँदै चैतदेखि मौसम न्यानो र खुला हुन्थ्यो । तर यस वर्ष त्यसको ठीकविपरीत भएको छ । पुस–माघमा हिउँ नपरेर चैत लागेदेखि सामान्य वर्षासँगै हिमपात भइरहेको छ ।
पछिल्लो समय दैनिकजसो साँझ, बेलुका वर्षा भइरहेको छ भने उच्च क्षेत्रमा हिमपात भइरहेको छ । शुक्रबार बेलुका तीन हजार सात सय ९४ मिटरको उचाइमा पर्ने पाथीभरासहितका उच्च क्षेत्रमा बाक्लो हिमपात भएको छ । यसअघि सामान्य हिमपात भए पनि यति धेरै हिउँ खसेको थिएन । साँझ परेपछि वर्षा हुने र हिउँ पर्ने क्रम केही दिनदेखि चलिरहेको हिमाली बस्ती घुन्साका दीपक शेर्पाले बताए।
यता ओलाङचुङगोलामा समेत केही दिनदेखि सामान्य वर्षासहित हिमपात भइरहेको छ । यो वर्ष ढिलो गरेर हिमपात भए पनि विगतका वर्षमा जस्तो बाक्लो हिमपात भने भएको छैन । “विगतमा यतिबेलाको जस्तो चैतमा हिउँ पर्दैनथ्यो, यो वर्ष हिउँ पर्ने बेला पुस–माघमा मौसम खुला भयो, हिजोआज वर्षा र हिमपात भइरहेको छ”, शेर्पाले भने।
यो वर्ष शुक्रबार पहिलो पटक केहि उच्च क्षेत्रका गाउँमा समेत हिउँ परेको छ । सिरीजङ्घा गाउँपालिकामा पर्ने याम्फुदिन, मामांखे, मिक्वाखोला गाउँपालिकाको पापुङ लगायतका गाउँमा हिमपात भएको स्थानीयले बताए । हिउँदको समयमा पानी नपर्दा हिउँदे बालीनाली फस्टाउन नसके पनि पछिल्लो समयमा परेको वर्षाले भने किसानलाई सामान्य राहत मिलेको छ । तर तल्लो क्षेत्रसम्म नै हिउँ पर्दा भने अलैँची बालीमा क्षति हुन्छ ।
बेमौसमी हिमपातले चिसो बढेसँगै उच्च क्षेत्रका बासिन्दालाई समेत असहज भएको स्थानीयले बताएका छन् । केही दिनअघि न्यानो मौसम सुरु भएर पशुचौपाया सहित उच्च गोठ सार्दै लगेका पशुपालकले समेत समस्या भएको बताए ।

सम्बन्धित खवर