साइनाे समाचारदाता/ पथरी,१९ फागुन, प्रदेश नम्बर १ सरकारले जनताले माग्दै नमागेको नाम राखेर पहिचानवादीहरुको अपमान गरेको बताएको खम्बुवान राष्ट्रिय पार्टीले जनाएको छ । आरके खम्बु राष्ट्रिय अध्यक्ष रहेको खम्बुवान राष्ट्रिय पार्टीले मोरङको पथरीशनिश्चरे २ स्थित साल्पा होटलमा पत्रकार सम्मेलन गरी उत्त कुरा बताएको हो ।
बिहिबार प्रेस विज्ञप्ति सार्वजनिक गर्दै पार्टीका महासचिव रणेन्द्र थिम्राहाङ र उपाध्यक्ष दिलाराम राईले एकात्मकवादी सोचले प्रदेश १ को नामाकरण कोसी राखिएको भन्दै नाम नसुधारे शसक्त आन्दोलन गर्ने चेतावनी दिनुभयो । विज्ञप्तिमा भनिएको छ “खम्बुवान भुगोललाई छलछामपुर्ण र अंकगणितको जालसाजी पुर्ण तरिकाले प्रदेशको नामाकरण गर्दा प्रदेशका आम आदिवासी जनजातिका अधिकार कटौति हुनेगरि प्रदेशको नाम राख्ने कार्यको हामी घोर बिरोध गर्दछौं” । उपाध्यक्ष दिलाराम राईले भन्छन “प्रदेशको नाम कोसी राखिदेउ भनेर कसैले भनेको थिएन । पहिचानवादीले किरात प्रदेश वा लिम्बूवान राख्न पटकपटक आग्रह गरेका थिए । तर, सरकारले पहिचानवादीका कुरा सुनेन । विज्ञप्तिमा तामाङसालिङ, नेवा, मगरात, तमुवान, लिम्वुवान खम्बुवान सबैले आन्दोलनको आँधीबेहरी ल्याउने उल्लेख गरेको छ ।