साइनाे समाचारदाता/ पथरी, १५ पुस, मोरङ क्षेत्र नं ३ बाट नव निर्वाचित सांसद शुनिलकुमार शर्माले आफू गुरुङ जातिको उत्थान र गुम्बाको विकासको निम्ति सधैं प्रतिवद्ध भएर लाग्ने बताउनु भएको छ । शर्माले पथरी तमु बौद्ध गुम्बाको आयोजनामा भएको तमु ल्होसार २६०७ को शुभकामना (नयाँ वर्ष पर्वको) आदन प्रदान कार्यक्रममा उक्त कुरा बताउनु भएको हो ।
कार्यक्रमका उद्धघाटन गर्दै प्रमुख अतिथी शर्माले आफू हिन्दु बौद्धिष्ट भएको समेत बताउनु भएको छ । नेपालमा रहेका सम्पुर्ण नेपालीहरु सबै धर्मलाई सम्मान गर्ने र बुद्ध मान्ने भएकाले हिन्दु र बौद्धिष्ट सम्मान भएको बताउनु भयो । हिन्दु धर्ममा इश्वरका कैयोँ अवतारहरु मध्ये भगवान बुद्धको एक अवतार भएको बताउदै आफुलाई बुद्धिष्ट हिन्दु भनेर चिनाउने गरेको शर्माले बताउनु भयो ।
कार्यक्रमका विशिष्ट अतिथि पथरीशनिश्चरे नगर प्रमुख मोहन तुम्बापोले नगर भित्रका धार्मिक सम्पदाहरुको संरक्षण र प्रवद्र्धनमा नगर सधैं लागि पर्ने प्रतिवद्धता जनाउनु भएको छ । नेपाल बहुभाषिक, बहुधार्मिक आस्था बोकेको राष्ट्र भएका कारण नेपालीले आपसी भाइचारा कायम राख्न सबै धर्म र सँस्कृतिको संरक्षण र सम्मान गर्नु पर्ने बताउनु भयो ।
गणेशप्रसाद घलेको अध्यक्षतामा भएको कार्यक्रममा गुरुङ पहिरनमा नृत्य साथै विभिन्न सांगीतिक कार्यक्रमका सम्पन्न भएको थियो । प्रत्येक बर्ष पथरी तमु बौद्ध गुम्बाले गुरुङ समुदायको प्रमुख चाडको रुपमा तमु ल्होसार मनाउँदै आएको छ ।