साइनाे समाचारदाता/बेलबारी, कार्तिक २
मोरङको बेलबारी ११ मा पाँचौँ बेलबारी बुद्ध एयर अन्तर्राष्ट्रिय आमन्त्रण फुटबल प्रतियोगिता हुने भएको छ । डाँगीहाट यूथ क्लबको आयोजनामा कार्तिक १५ देखि २३ गतेसम्म प्रतियोगिता हुने भएको छ । बेलबारी ११ लक्ष्मीमार्ग स्थित लक्ष्मी माविको खेलमैदानमा हुने उत्त प्रतियोगितामा देश तथा विदेशका गरि १० टिमको सहभागिता रहने आयोजक समितिले बुधवार पत्रकार सम्मेलन गरी जानकारी दिएको हो ।
गोल्डकपमा तीन वटा विदेशी टिम सहित १० टिमको सहभागिता रहेको छ । प्रतियोगितामा गत वर्षको विजेता टिम सशस्त्र प्रहरी बल, रोलिङ एफ सी झापा, पेम्बा युथ क्लब विराटनगर, डाँगी हाट यूथ क्लब आयोजक, सहारा क्लब पोखरा, भारतको वेस्ट बङ्गाल आमुक्त परिवार, सिराहाको सहलेस यूथ क्लब, एभिनियर फुटबल क्लब क्यामरुन, युनाईटेड ब्रदर्श कालिम्पोङ भारत र धनकुटाको राजारानी फुटबल क्लबको सहभागिता रहने छ ।
प्रतियोगिताको विजेता हुने टिमले नगद रू ८ लाख १ हजार र उपविजेताले ४ लाख १ हजार रुपैयाँ पाउँने आयोजक क्लबका अध्यक्ष विक्रम राईले पत्रकार सम्मेलनमा जानकारी दिए । प्रतियोगिता सम्पन्न गर्न करिब ५२ लाख ६१ हजार रुपैयाँ खर्च हुने तथा ६१ लाख ९० हजार रुपैयाँ आम्दानी हुने आयोजकको अपेक्षा रहेको डाँगीहाट यूथ क्लबका प्रेस संयोजक तथा सञ्चारकर्मी नगेन्द्र वस्नेतले बताए ।
पुर्वी नेपालको मोफसलमा सफल हुदै पाँचौँ संस्करण सम्म आएको गोल्डकपले एकेडेमी संचालनको तयारी गरेको छ । चौथो संस्करणमा विजेतालाई नगद रू ५ लाख रुपैयाँ रहेको थियो भने यस पटक राशी थप गरि ८ लाख पुराएको अध्यक्ष राईले बताए ।