पञ्चायतकाे बिदाइसँगै चाडपर्व विशेष शुभकामना - Sainokhabar
  • सोमबार, मङि्सर १८, २०८०

पञ्चायतकाे बिदाइसँगै चाडपर्व विशेष शुभकामना

साइनाे समाचारदाता, पथरी/ साउन १३, मोरङको पथरीशनिश्चरे १ मा रहेको पञ्चायत माध्यमिक विद्यालयले कक्षा १२ को वार्षिक परीक्षामा सफल विद्यार्थीलाई बिदाइसँगै चाडपर्व विशेष शुभकामना आदानप्रदान कार्यक्रम गरेको छ । विद्यालय प्राङ्गणमा मङ्गलबार आयोजित कार्यक्रममा १२ कक्षामा सर्वोत्कृष्ट (जिपिए ३.७५) नतिजा ल्याउने सौरभ बस्नेतसहित समग्र सफल विद्यार्थीलाई उज्ज्वल भविष्यको कामनासहित अबिर तथा खादा लगाई बिदा गरियो ।

यस्तै आसन्न दसैँ, तिहार, नेपाल संवत् तथा छैठजस्ता नेपाली मौलिक राष्ट्रिय पर्वहरूको अवसरमा शुभकामना आदाप्रदान भयो । कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि पथरीशनिश्चरे नगरपालिकाका शिक्षा, युवा तथा खेलकुद शाखाप्रमुख शालिग्राम काफ्लेले गुणस्तरीय शिक्षा प्रदान गरेर आर्जन गरेको पञ्चायत माविको ख्याति अझ बढोस् भनी शुभकामना दिए । सामुदायिक विद्यालयतर्फ विज्ञान विषय समूहमा निरन्तर प्रदेश १ मै सर्वोत्कृष्ट नतिजा ल्याउन सफल यस विद्यालयको प्रगति अन्य विद्यालयका लागि पनि अनुकरणीय हुने विद्यालयका सल्लाहकार एवम् समाजसेवी युवराज बाँस्कोटाले धारणा राखे ।

विद्यालयका पूर्वअध्यक्ष एवम् सल्लाहकार देवराज भण्डारीले २०३६ सालदेखि हालसम्मको आरोहअवरोहको प्रमुख घटना सुनाउँदै सामूहिक प्रयत्नको फलस्वरूप अहिले पञ्चायत मावि गुणस्तरीय शिक्षाको पर्याय बन्न सफल भएको बताए । विद्यालयकी सहायक प्रअ बीना राई र विद्यार्थी गरिमा थेगिमले स्वागत मन्तव्य राखेको उक्त कार्यक्रममा विद्यालय व्यवस्थापन समिति अध्यक्ष आइतकुमारी तुम्बापो, पूर्व विद्यार्थी समाजका कोषाध्यक्ष टिकेन्द्र (दिनेश) पौडेललगायतले शुभकामना मन्तव्य राखेका थिए ।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानाध्यापक अर्जुनकुमार बुढाथोकीले भौतिक विकास र शैक्षिक उन्नयनलाई विद्यालयले समानान्तर रूपमा अगाडि बढाइरहेको जानकारी दिँदै भने– ‘यस विद्यालयले कक्षा ११ र १२ मा बर्सेनि नयाँनयाँ व्यावहारिक विषय थप गर्ने सन्दर्भमा अहिले मूलविषय समूहमा विज्ञान, सिभिल इन्जिनियरिङ, कानुन, ललितकला (फाइन आर्टस्), व्यवस्थापन, मानविकी र शिक्षासँगै आमसञ्चार तथा पत्रकारिता विषयको समेत पठनपाठन गर्न सफल भएका छौँ ।’

शिक्षक दिनेशकुमार सुवेदीले सञ्चालन गरेको उक्त औपचारिक कार्यक्रमपश्चात् आयोजित मनोरञ्जनात्मक प्रस्तुतिमा विद्यार्थीले ३४ ओटा सामूहिक नृत्य र २३ ओटा गायनसहित अन्य विभिन्न विधाका अब्बल खुराक पस्केको कार्यक्रम संयोजक राजु तिम्सिनाले जानकारी दिए ।

सम्बन्धित खवर