साइनाे समाचारदाता पथरी/असोज १०,
मोरङ पथरी शनिश्चरे नगरपालिका २ स्थित लर्डबुद्ध बचत तथा सहकारी संस्थाले २० औं साधारणसभा सम्पन्न गरेको छ । संस्थाले १९ करोड ५३ लाख ९२ हजार ९ सय २८ रुपयाँको प्रगति प्रतिवेदन प्रस्तुत गरेको छ भने आगामी बर्ष ७९/८०का लागि २२ करोड पुर्याउने अनुमानित लक्ष लिएको कोषाध्यक्ष दोर्णबहादुर खड्काले बताउनु भयो ।
२० औ साधारण सभालाई संबोधन गर्दै संविधान सभा सदस्य चण्डीप्रसाद राईले सहकारीले गाउँ घरका सा–साना समस्या देखि ब्यापार ब्यावसाय गर्ने ब्यावसायीहरुमा सहजकर्ताको भुमिका निर्वाह गरेको बताउनु भयो ।
कार्यक्रमका विशिष्ट अतिथि निवर्तमान नगर प्रमुख दिलीप कुमार राईले नगरले नगर भित्रका सहकारी संग सहजिकरण गरि सहकारी निती बनेको बताउनु भयो । सहकारीले नगरमा रोजगारी देखि लिएर नगरको आर्थिक पक्षको ठुलो हिस्सा ओगटेको बताउनु भयो ।
कार्यक्रममा वडा नं. २ का वडाध्यक्ष नैना राईले नगरमा सहकारी च्याउ सरि भएको भन्दै बाहिरबाट आउने सहकारीलाई नगरले रोक लगाएको बताउनु भयो । राईले बाहिरबाट आएका सहकारीले क्षणीक र सस्तो ब्याज र बढि लगानी गरेर जोखिम मोलेको बताउनु भयो । त्यस्ता प्रलोभन र लोभले नगरबासी मारमा परेको समेत उहाको भनाई छ ।
उक्त अवसरमा संस्थाका पूर्व संचालकद्वय अर्जुन कुमार राई र प्रतिमान राईलाई सम्मान गरिएको थियो । संस्थाले उत्कृष्ट बचततर्फ भद्रिका राई, चिरणकुमार तामाङ उत्कृष्ट ऋण कारोबारकर्ता मिना कुमारी कार्की, प्रेमलाल लिम्बु र बाल बचततर्फ रिसब गिरीलाई पुरस्कार गरेको छ । संस्थाले आफ्नो २० औं वार्षिक साधारण सभाको वार्षिक आर्थिक प्रविधी मैत्री प्रतिवेदन १५ दिन अगाडि नै सामाजिक संजाल मार्फत सार्वजनीक गरेको थियो ।
पथरी शनिश्चरे नगरपालिकालाई कार्यक्षेत्र बनाई बचत कारोवार गर्दै आएको लर्ड बुद्ध साकोसले ७० वर्ष माथिका ज्येष्ठ शेयरहरूलाई २०७४ सालदेखि मासिक ८५० का दरले आजीवन पेन्सन भत्ता उपलब्ध गराउदै आएको छ । २ हजार ७ सय ५१ जना सेयर सदस्यहरूको साकोस एकिकरण भई दुई स्थानमा सेवा केन्द्र संचालन गर्दै आएको छ ।
संस्थाका अध्यक्ष धनराज राई (अमीर) को अध्यक्षता सम्पन्न कार्यक्रममा संस्थाका सचिव महेन्द्र ढुंगानाले चालु आर्थिक वर्ष र २०७९/०८० को प्रस्तावित कार्ययोजना पेश गर्नुभएको थियो । कोषाध्यक्ष दोर्णबहादुर खड्काले आर्थिक वर्ष २०७८/०७९ को आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो भने लेखा संयोजक लालबहादुर बस्नेतले लेखा प्रतिवेदन र सुझाव प्रस्तुत गर्नु भएको थियो । कार्यक्रममा गायन र कमेडीद्धारा मनाेरञ्जन प्रदान गरिएकाे थियाे ।