साइनाे समाचारदाता पथरी/ मोरङको माेफसलमा रहेकाे पुरानो र अग्रणी उच्च शिक्षा संस्थाकाे रुपमा चिनिदै आएकाे उर्लाबारी बहुमुखी क्याम्पसमा पत्रकारिता विषय पढाइ हुने भएकाे छ । यही शैक्षिक सत्र २०७८ बाट ४ बर्से स्नातक तह (बि.ए.) मा पत्रकारिता र सामाजिक कार्य विषय थप गरी पठनपाठन सुरु हुने भएको क्याम्पस प्रसासनले पत्रकार सम्मेलन गरि जानकारी दिएकाे हाे ।

व्यावहारिक एवम् व्यावसायिक विषय पठनपाठन गराउने सन्दर्भमा क्याम्पसले यस वर्षदेखि मानविकी सङ्कायमा उक्त दुईओटा विषयहरू थप गरेको हो । यसका लागि क्याम्पसले त्रिभुवन विश्वविद्यालयको सम्बन्धनमा नयाँ विद्यार्थी भर्ना प्रक्रिया समेत अगाडि बढाएको छ । पछिल्लाे समयमा पत्रकारीतामा मानिसकाे रुचि बढ्दै गएका कारण र नेपाल पत्रकार महासङ्घ मोरङ शाखाले भर्खरै पत्रकारिता विषय पठन पाठनका लागि पहल गरे अनुरुप क्याम्पसले पत्रकारिता सुरु गर्ने भएकाे क्याम्पस प्रमुख बेधराज भट्टराईले जानकारी दिनुभयो ।
पूर्वोत्तर मोरङ सहित पूर्वी पहाडी जिल्लाका सञ्चारकर्मीको पत्रकारिता विषय पढ्ने चाहनालाई यस क्याम्पसले पूरा गर्ने उद्देश्य राखेको सोमबार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराइयो । मोरङमा विराटनगर बाहिर पहिलो पटक उर्लाबारी बहुमुखी क्याम्पसमा पढाइ हुन लागेको पत्रकारिता विषयको चारबर्से पाठ्यक्रममा त्रिविले निर्धारण गरे अनुसार पढाइ हुने क्याम्पस सञ्चालक समिति अध्यक्ष पुष्पलाल ढकालले बताउनुभयो ।

पत्रकारितामा पहिलो वर्ष मास मिडिया र सञ्चारको परिचय र पत्रकारिताको सिद्धान्त र अभ्यास विषय, दोस्रो वर्ष मिडियाको नीतिशास्त्र, कानुन र इतिहास र मिडिया अनुसन्धानका आधारहरू, तेस्रो वर्ष जनसम्पर्क र विज्ञापनको परिचय र आमसञ्चार र पत्रकारिता तथा चौथो वर्ष ऐच्छिकपत्रसहित प्रसारण पत्रकारिता, नयाँ माध्यम र अनलाइन पत्रकारिता र फोटो पत्रकारिता विषय पठन पाठन हुनेछ । बि.ए.का प्रत्येक विषयमा त्रिविले तोकेअनुसार पूर्णाङ्कको ३० प्रतिशत अङ्क प्रयोगात्मक र अन्य ७० प्रतिशतको सैद्धान्तिक परीक्षा हुने सहायक क्याम्पस प्रमुख खेमराज कार्कीले जानकारी दिनुभयो । सहायक क्याम्पस प्रमुख कार्कीका अनुसार पत्रकारिता विषयको प्रयोगात्मक कार्यका लागि स्थानीय सञ्चार माध्यम सहित राष्ट्रिय स्तरका सञ्चार माध्यममा इन्टर्नसिपको व्यवस्था मिलाइने छ भने क्याम्पसकै स्वामित्वमा प्रयोगात्मक सामग्री निर्माण एवम् खरिदका लागि पनि तत्काल पहल गरिनेछ । सामाजिक कार्य विषयको प्रयोगात्मक कार्य ग्रामीण क्षेत्र र सहरी क्षेत्रमा अलगअलग रूप र प्रणालीबाट गरिने बताए ।
क्याम्पसका सहायक प्राध्यापक केशव निरौलाका अनुसार पत्रकारिता विषयमा स्नातक गरेको व्यक्ति सरकारी तथा निजी सञ्चार माध्यममा संवाददातादेखि लिएर प्रधान सम्पादकसम्म हुन योग्य हुन्छन् भने विदेशी सञ्चार माध्यम/संस्थाका प्रतिनिधि, मिडियाका कानुनी सल्लाहकार, स्थानीय तहमा सूचना संयोजक, विज्ञापन एजेन्सीसहित प्रकाशन गृहमा सम्पादक र सोही विषयको प्रशिक्षक समेत बन्न योग्य हुनेछन् ।
त्रिविको कार्यतालिका अनुसार फागुन १ गतेबाट बि.ए.को औपचारिक कक्षा सुरु हुने भए तापनि क्याम्पसले अनलाइन मुडल प्रणालीमार्फत माघ १४ गतेबाट नै अभिमुखीकरणसहित कक्षा सुरु गर्ने भएको छ । थप भएका विषयसँगै अब क्याम्पसमा बि.ए.तर्फ ऐेच्छिक समूहमा पत्रकारिता, सामाजिक कार्य, नेपाली, अङ्ग्रेजी, समाजशास्त्र, अर्थशास्त्र, ग्रामीण विकास, राजनीतिशास्त्र र इतिहास विषयहरूमध्येबाट कुनै दुई विषय छनोट गरी पढ्न पाइने भएको छ ।
२०४३ सालमा स्थापित यस क्याम्पसमा अहिले कक्षा ११ देखि स्नातकोत्तर तहसम्ममा १ हजार ७ सय ५० जना विद्यार्थी अध्ययनरत छन् भने ४० प्राध्यापक र १२ कर्मचारी कार्यरत छन् । विश्वविद्यालय अनुदान आयोगको गुणस्तर सुनिश्चितता प्रत्यायन (क्युएए) प्राप्तिको प्रक्रियामा रहेको यस क्याम्पसले बर्सेनि व्यावहारिक एवम् जीवनोपयोगी शिक्षा थप गर्दै जाने प्रयत्न गरेको क्याम्पस प्रमुख भट्टराईले बताउनुभयो ।
















