काठमाडौं । नेपाली कांग्रेसको चौधौं महाधिवेशनमा सभापति शेरबहादुरलाई सशक्त टक्कर दिएपछि डा. शेखर कोइराला को हुन् ? भन्ने प्रश्न धेरैको मस्तिष्कमा आएको छ ।
यसै विषयमा उत्तर दिँदै एक अन्तर्वार्तामा डा. कोइराला भन्छन्, “म बीपीको छोरा होइन, न त गिरिजाबाबुको छोरा हुँ । म बीपीका भाई केशवप्रसाद कोइरालाको छोरा हुँ । मेरा पिताजी ति व्यक्ति हुन् जसले कोइराला खानदानको राजनीतिलाई सहयोग गर्न खेती गरेर घर परिवारको जिम्मेवारी उठाए ।” यो विषयमा बीपीले “आत्मवृत्तान्त” पुस्तकमा समेत लेखेका छन् ।
तर, डा. शेखर कोइरालालाई अहिले आ˚्नो पिताजीले नेपाली कांग्रेसका लागि गरेको योगदानको प्रतिफल चाहिएर यो कुरा भनेका होइनन् । बीपीले सबै दाजुभाईका सन्तान जुन सौहार्दता र विश्वासको वातावरणमा अघि बढुन् भन्ने सोच राखेका थिए सो कुरा बीपी पुत्र डा. शशांक कोइराला तथा गिरिजा पुत्री सुजाता कोइरालाले नबुझेकोमा उनलाई अलि चित्त नबुझेको देखिन्छ ।
“मैले विरासतलाई धेरै महत्त्व दिन्न । केही त दिनैपर्छ । बीपीले टाटा मेमोरियल अस्पतालबाट एउटा चिठी लेख्नुभएको थियो । बीपीले मेरो बुबालाई लेखेको चिठी मार्मिक छ । मेरो बुबा पनि क्यान्सरबाट पीडित हुनुहुन्थ्यो । सायद भाइ बहिनी (शशांक र सुजाता) ले त्यो चिठीको मर्म बुझेनन् भन्ने मलाई लाग्छ,” नेपाली कांग्रेसको १४औँ महाधिवेशनमा पराजित भएपछि डा. शेखर कोइरालाले इमेज टेलिभिजनमा दिएको यो अन्तर्वार्तामा भनेका छन् ।
बीपी कोइरालाले आफ्ना बुबा केशवप्रसाद कोइराला (कोसु)लाई लेखेको चिठीबारे डा. शेखर थप प्रष्ट पार्ने प्रयास गर्दै भन्छन्, “तिमीले घर धानिदिएका थियौ, त्यसकारण म (बीपी) यहाँ पुगेँ । र, हाम्रा छोराहरुले पछि पनि पिताजीको एकतालाई कायम राखेर कीर्तिमान राख्नेछन् । त्यो कुरा शशांक र सुजाताले बुझ्न चाहेनन् ।”
कृष्णप्रसाद कोइरालाका दुई श्रीमतीका पाँच छोरा हुन् मातृकाप्रसाद कोइराला, बीपी कोइराला, केशवप्रसाद कोइराला (कोसु), तारिणीप्रसाद कोइराला र गिरिजाप्रसाद कोइराला ।
मातृका मोहनकुमारीका छोरा हुन् भने बाँकी चार दिव्याकुमारीतर्फका ।
उनै ‘कोसु’का छोरा हुन् शेखर कोइराला ।
कोइराला परिवारभित्रै पनि ‘टाढाका’ मानिएका शेखर १४औँ महाधिवेशनमा सभापतिमा शेरबहादुर देउवासँग पराजित हुँदै गर्दा आफ्नै भाइ बहिनी शशांक र सुजाताले भने उनलाई साथ दिएनन् ।
महाधिवेशन उद्घाटनको एक साताअघि शशांकको निवासमा तीन दाजु बहिनीले संयुक्त पत्रकार सम्मेलन गरेर शेखरलाई अघि बढाउने तयारी गरेका बेला अन्तिम समयमा डा. शशांक हेलिकोप्टरमार्फत संखुवासभातर्फ लागेका थिए ।
त्यसपछि तीन कोइराला दाजु बहिनीबीच महाधिवेशन अवधिभर अन्तरंग कुराकानी भएन । त्यो अहिलेसम्म पनि नभएको डा. शेखरको भनाइ छ ।
बीपीले कोसुलाई लेखेको चिठी बाह्रखरीले प्राप्त गरेको छ, जुन चिठी शेखर कोइरालाले आफ्नो निवासमा अहिले पनि ‘फ्रेम’ गरेर सुरक्षित राखेका छन् ।
क्यान्सरको उपचारका लागि भारतको बम्बई पुगेका बीपी कोइरालाले कोसुलाई आजभन्दा ४० वर्षअघि लेखेको पत्रमा भनेका छन्– कोइरालाहरुको केन्द्रभूमि–पिताजीको कार्यक्षेत्र–विराटनगरमा हाम्रो अस्तित्वको रक्षा तिमीबाट भएको छ । हाम्रो सेखपछि छोराहरुले एकदम एकता राखेर पिताजीको कीर्तिलाई कायम राख्नेछन् ।”
तर बीपीले भनेझैँ अहिले त्यो कुरा शशांक र सुजाताले बुझ्न नसकेको डा. शेखरको भनाइ छ ।
अहिले बीपी पुत्र शशांकले देउवालाई सहयोग पुग्नेगरी मौन बसिदिए भने सुजाता प्रकाशमान सिंहको प्यानलबाट उपसभापति उमेदवार बनिन् ।
डा. शेखरले यसलाई आफ्नो पनि कमजोरी भएको स्वीकार गरेका छन् ।
“मेरो हारमा मेरो कमजोरी छैन भन्न मिल्दैन । मैले मेरो भाइ र बहिनीलाई मिलाउन सकिन,म स्वीकार गर्छु,” उनले भनेका छन्, “मिलाउन नसकेकै हो । मेरा अग्रज नेता रामचन्द्र पौडेल र प्रकाशमान सिंहलाई मिलाउन सकिन । त्यो मेरो कमजोरी हो । शशांकसँग अन्तिम पत्रकार सम्मेलन गर्ने विषय गडबड भएपछि मेरो गम्भीररुपमा अन्तरंग संवाद भएकै छैन । सुजातासँग विराटनगरमा प्रदेश निर्वाचनको दिनमा छलफल भएको थियो । त्यसपछि भएको छैन ।”
बीपीको उक्त भनाइ उनीहरुले बुझ्न नसकेको डा. शेखरको प्रतिक्रिया छ ।
बीपी कोइरालाले १८ डिसेम्बर १९८१ मा लेखेको पत्रमा भनिएको छ
कोसु,
मेरो स्वास्थ्यको सम्बन्धमा नोनाले सब कुरा बताउनेछिन् । नोनालाई मैले बम्बई लिएर गएँ । तिमीलाई केही असुविधा भयो होला । हामी दुवैलाई ठूलो रोग लाग्यो । ओखती उपचारले जति दिन धान्छ त्यति धान्ने हो । तिमीले सारा हेरविचार गरेका थियौ । मेरा भाइहरुको ठूलो मद्दतले मैले केही गर्न सकेँ । कोइरालाहरुको केन्द्रभूमि पिताजीको कार्यक्षेत्र विराटनगरमा हाम्रो अस्तित्वको रक्षा तिमीबाट भएको छ । हाम्रो सेखपछि छोराहरुले एकदम एकता राखेर पिताजीको कीर्तिलाई कायम राख्नेछन् ।
म सोमबार राति सोझै काठमाण्डु फर्किन्छु । बुनु, गिरिजा र शैलजासँग । शुशीला, प्रकाश, नोना र चेतना बनारस जान्छन् । मैले सकेँ भने १/२ दिनका लागि तिमीसँग भेट्न विराटनगर जानेछु ।
त्यहाँ सबैलाई मैले सम्झेको छ भनिदिनु ।
माया गर्ने
सान्दाजु
१२ खरी बाट साभार