रासस / राष्ट्रपति विद्यादेवी भण्डारीले सभ्य र लैङ्गिक समानतायुक्त समाज निर्माणका लागि विशेष पहलका साथ अग्रसर रहन समाजका सबै पक्षको ध्यानाकषर्ण गराउनुभएको छ ।

उहाँले भन्नुभयो, “महिला अधिकार स्थापित गर्न, महिला हिंसा न्यूनीकरण गर्न राष्ट्रिय तथा अन्तरराष्ट्रियस्तरमा विभिन्न प्रयास भएका छन्, हाम्रो देशमा संवैधानिक तथा कानूनी प्रावधान, नीति तथा कार्यक्रमसमेत निर्माण भएका छन, यी प्रावधानको प्रभावकारी कार्यान्वयन हुँदै जाँदा महिला समानता कायम गर्न तथा विभेदको अन्त्य गर्न महत्वपूर्ण योगदान पुग्ने नै छ ।”
राष्ट्रपति भण्डारीले त्यसका लागि राज्यका कार्यान्वयन गर्ने निकाय सकारात्मकरुपमा थप क्रियाशील बनाउनुपर्ने आवश्यकता महसुस भएको बताउनुभयो । लैङ्गिक समानताका लागि हालसम्मका प्रयासले महिलाको राजनीतिक तथा प्रशासनिक प्रतिनिधित्व उल्लेखनीयरुपमा बढिरहेको र शिक्षा, स्वास्थ्य, सम्पत्तिमाथिको स्वामित्व तथा श्रम सहभागितामा सकारात्मक परिवर्तन भएको उहाँको भनाइ छ ।
मुलुकले हासिल गरेका हालसम्मका उपलब्धिलाई रक्षा गर्दै लैङ्गिक उत्तरदायी हिसाबले शासन पद्धतिलाई स्थानीय तहदेखि नै संस्थागत गरी अगाडि बढेमा ‘समृद्ध नेपाल, सुखी नेपाली’को साझा राष्ट्रिय आकाङ्क्षा पूरा गर्न सकिने कुरामा आफू विश्वास्त रहेको उहाँले बताउनुभयो ।
राष्ट्रपति भण्डारीले सरकारले लैङ्गिक विभेदको अवस्थालाई अन्त्य गर्ने उद्देश्यका साथ राष्ट्रिय लैङ्गिक समानता नीति–२०७७ सार्वजनिक गरेकामा खुशी व्यक्त गर्दै सरकारलाई धन्यवाद व्यक्त गर्नुभयो । सरकार र संसद्मा प्रतिनिधित्व गर्ने दल र समाजको माथिल्लो तप्का लैङ्गिकमैत्री भएपनि त्यससम्बन्धी अङ्गीकार गरिएका नीति कार्यान्वयन गर्नमा समस्या र अवरोध देखिएकामा उहाँले चिन्ता व्यक्त गर्नुभयो ।
महिलालाई असमानताको दृष्टिबाट हेर्न नहुने बताउँदै उहाँले त्यसलाई परिर्वतन गर्न चेतनामूलक कार्यक्रम सञ्चालन गर्दै समाजको चेतना नै परिवर्तन गर्ने गरी सङ्घर्ष गर्नुपर्नेमा जोड दिनुभयो । भएका ऐन÷कानूनको प्रभावकारी कार्यान्वयन नभएका कारण छोरा र छोरीमा हुने विभेद कायमै रहेको राष्ट्रपति भण्डारीको भनाइ थियो । उहाँले भन्नुभयो, “परिवार र समाजमा छोरा र छोरी दुवै सन्तान समान हुन भन्ने दृष्टिकोणलाई आत्मसाथ गर्दै अघि बढेको अवस्थामा नै वास्तविक महिला समानता कायम हुने छ भन्ने लाग्दछ ।” महिला अधिकार तथा लैङ्गिक समानताका लागि पूर्णप्राप्तिका लागि हरेक वर्ष ८ मार्चलाई अन्तरराष्ट्रिय महिला दिवसका रुपमा मनाउने गरिएको छ ।
















