रासस / ‘प्रथम छहरे (लिखु) महोत्सव तथा व्यापार मेला’ शुक्रबारदेखि शुरु भएको छ । नुवाकोट र रसुवामा रहेका धार्मिक, ऐतिहासिक तथा सांस्कृतिक महत्वका स्थलको प्रचारप्रसार एंव स्थानीयतयहलाई आर्थिकरुपमा समृद्धितर्फ लैजाने उद्देश्यले लिखु गाउँपालिकाको आयोजनामा महोत्सव शुरु गरिएको हो ।

महोत्सव चलाउन रु ४८ लाख खर्च लाग्ने र त्यसको लागि आयोजक लिखु गाउँपालिका, सहआयोजक जिल्ला समन्वय समिति नुवाकोटसहित सबै पालिका, प्रवद्र्धकमा नुवाकोट उद्योग वाणिज्य सङ्घलगायतका सङ्घसंस्थामार्फत मुनाफारहित रुपमा चलाउन थालिएको हो । महोत्सवमार्फत समग्र नुवाकोटको पर्यटकीय विकास, आन्तरिक व्यापार, लोककला संस्कृति संरक्षण तथा पर्यटन प्रवद्र्धनको लागी जोड दिइएको आयोजक लिखु गाउँपालिकाको अध्यक्ष धुव्र श्रेष्ठले बताउनुभयो ।
फागुन १४ देखि २२ गतेसम्म लिखु गाउँपालिका–६ स्थित कुमालठाँटीमा महोत्सव चल्नेछ । महोत्सवमा हेलिकप्टरमार्फत रसुवाको गोसाइँकुण्डसम्म पुग्न र शिवपुरीको सुइरेचउरबाट छहरेसम्म प्याराग्लाइडिङ गर्ने व्यवस्थासमेत मिलाइएको छ ।
















