रासस / महिलाका विषयमा सामूहिक आवाजका लागि महिला महासङ्घ गठन गृहकार्य गरिँदै छ । यस सम्बन्धमा यहाँ प्रदेशस्तरीय दुईदिने अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा महिला महासङ्घ गठनको संयोजन गरिरहेको शान्ति, न्याय र लोकतन्त्रका लागि समावेशी महिला सञ्जाल ‘सङ्कल्प’का अध्यक्ष लीली थापाले सो अभिमुखीकरणको सहजीकरण गर्नुभएको थियो ।

थापाका अनुसार महासङ्घको सदस्यताका लागि केही मापदण्ड बनाइएको छ । सदस्य बन्नका लागि महिलाले नेतृत्व गरेको र कम्तीमा दुई वर्षदेखि महिला तथा बालबालिका क्षेत्रमा काम गरेको क्रियाशील संस्था हुनुपर्नेछ । कुनै पनि राजनीतिक दलको जिम्मेवार पदमा बसेका व्यक्ति संस्थाको सदस्य बन्न पाउने छैनन् ।
गण्डकी प्रदेशबाट सहभागी महिला प्रतिनिधिले महासङ्घले उठान गर्नुपर्ने विषयमा आआफ्नो धारणा राखेका थिए । विशेषगरी नेतृत्व तहमा महिलाको अर्थपूर्ण सहभागिता, महिला हिंसा न्यूनीकरणका लागि पहल, आमाका नामबाट सहज रुपमा नागरिकता दिनुपर्ने, विभेदकारी कानूनको अन्त्य गर्नुपर्ने, स्रोत साधनमाथि महिलाको पहुँच हुनुपर्ने, समानताका लागि समतामूलक अभ्यासबाट अवसर प्रदान गर्नुपर्ने, लैङ्गिकक उत्तरदायी तथा समावेशी शासनमा जोड दिनुपर्ने सुझाव दिएका थिए ।
गण्डकी प्रदेशका महिला तथा बालबालिका क्षेत्रमा क्रियाशील १५ संस्थाका महिला प्रतिनिधि उपस्थित सो अभिमुखीकरणमा महिला महासङ्घ गण्डकी प्रदेश तदर्थ समितिमा आमा मिलन केन्द्रलाई संयोजकका रुपमा चयन गरेको सङ्कल्प गण्डकी सचिव प्रमिला तझ्याले जानकारी दिनुभयो ।
















