रासस / जिल्ला स्वास्थ्य कार्यालय तनहुँका स्वास्थ्यकर्मी वीरेन्द्रकुमार चौधरीले तनहुँमा पहिलोपटक कोरोनाविरुद्धको खोप लगाउनुभयो । जिल्ला स्वास्थ्य कार्यालय तनहुँले तय गरेको खोप केन्द्रमा पहिलो खोप लगाउँदै गर्दा चौधरीलाई मनमा केही डर पनि थियो ।

जिल्ला स्वास्थ्य कार्यालय तनहुँले आजदेखि दमौलीमा कोरोनाविरुद्धको खोप लगाउन शुरु गरेको छ । पहिलो खोप लगाएका स्वास्थ्यकर्मीलाई चार हप्तापछि पुनः खोप दिइने स्वास्थ्य कार्यालय तनहुँका प्रमुख शङ्करबाबु अधिकारीले जानकारी दिनुभयो । उहाँका अनुसार १८ वर्षभन्दा माथि उमेर समूहका व्यक्तिहरुलाई कोरोनाविरुद्धको खोप लगाइन्छ । “खोप लगाएकाहरुलाई केही असर नदेखिएकाले यो खोप प्रभावकारी छ भन्ने हामीले ठहर गरेका छौँ”, अधिकारीले भन्नुभयो, “सबै स्वास्थ्यकर्मीलाई ऊर्जा प्राप्त भएको छ ।”
जिल्ला स्वास्थ्य कार्यालय तनहुँले माघ १९ गतेसम्म जिल्लाका एक हजार ६७९ स्वास्थ्यकर्मीलाई खोप लगाउँदैछ । खोप लगाउनका लागि दमौलीमा तीनवटा खोप केन्द्र तोकिएको छ । व्यास नगरपालिका, म्याग्दे गाउँपालिका र ऋषिङ गाउँपालिकाका स्वास्थ्यकर्मीलाई माघ १४ र १५ गते, शुक्लागण्डकी नगरपालिका, भीमाद नगरपालिका र घिरिङ गाउँपालिकाका स्वास्थ्यकर्मीलाई माघ १६ र १७ गते, भानु नगरपालिका, आँबुखैरेनी गाउँपालिका, बन्दीपुर गाउँपालिकाका र देवघाट गाउँपालिकाका स्वास्थ्यकर्मीलाई माघ १८ र १९ गते खोप लगाइँदैछ ।
अधिकारीका अनुसार व्यास नगरपालिकाका ५५८, म्याग्दे गाउँपालिकाका ८२, ऋषिङ गाउँपालिकाका ९८, शुक्लागण्डकी नगरपलिकाका २६७, भीमाद नगरपालिकाका १७७, घिरिङ गाउँपालिकाका ६१, भानु नगरपालिकाका १७१, आँबुखैरेनी गाउँपालिकाका ७३, बन्दीपुर गाउँपालिकाका १०५ र देवघाट गाउँपालिकाका ८७ जनालाई खोप लगाइँदैछ । स्वास्थ्य कार्यालयका प्रमुख अधिकारीका अनुसार सबै स्थानीय तहमा कार्यरत स्वास्थ्यकर्मी, एम्बुलेन्स चालक, सरसफाइकर्मीलगायतलाई यो खोप लगाइँदैछ ।
प्रदेश सरकारले मङ्गलबार मात्रै तनहुँलाई १८९ भायल खोप उपलब्ध गराएको थियो । प्रमुख जिल्ला अधिकारी सागर आचार्यले खोप लगाएकालाई ३० मिनेट चिकित्सकको निगरानीमा राखिने र केही असर देखिए तत्कालै उपचारको व्यवस्था मिलाइएको जानकारी दिनुभयो ।
















